हाम्रो पाटीमा आउनुस् अध्यक्ष बनाउछु भनेपछि योगेश भट्टराईको ट्वीट बन्यो भाइरल, त्यस्तो के लेखे ?

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १३ भदौ ।

दोस्रो पुस्तालाई अध्यक्ष दिन तयार रहेको बताउने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेकपा एमालेका सचिव योगेश भट्टराईले कटाक्ष गर्दै गरेको ट्वीट सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

भट्टराईले आफैँसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुनेथियो भन्दै नेपाललाई कटाक्ष गरेका छन् । ‘राम्रो कुरा हो, स्वागत गर्दछु । आफैँसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुने थियो,’ योगेशको ट्वीट छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफूलाई छाडेर एमालेमै बसेका दोस्रो तहका १० जना स्थायी कमिटी सदस्यप्रति नेताप्रति आक्रामक रुपमा प्रस्तुत भएर आफूलाई दोस्रो पुस्ताले घचेटेर अघि बढाएको र पार्टी फुटाउने बेला भागेको आरोप लगाएपछि भट्टराईले यसको प्रतिवाद गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल एमाले विभाजन भएपछि नेताहरुले कार्यकर्ता भेला, संगठन निर्माण र विस्तारमा जोड दिन थालेका छन् । केपी शर्मा ओली र माधवकुमार नेपाल विभाजनको दोष एकअर्कामा थोपरेर बढीभन्दा बढी जनप्रतिनिधि र नेता–कार्यकर्तालाई आफ्नो पक्षमा पार्न खोजिरहेका छन् ।