सिद्धार्थ राजमार्गका एक दर्जन ठाउँमा पहिरो, बुटवल-पाल्पा सडक अवरुद्ध

हाम्रो सन्देश संवाददाता

बुटवल, १३ भदौ ।

सिद्धार्थ राजमार्गमा अन्तर्गत बुटवल पाल्पा सडक खण्डको एकदर्जन जति ठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ। निरन्तरको वर्षाले पाल्पाको तिनाउ गाउँपालिका ३ को सिद्धबाबा क्षेत्रमा पहिरो खसेको छ। त्यस्तै तिनाउ ३ को सिसुवा, तिनाउ ५ को हिउदेखोला, केरावारी र जोरधारामा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

त्यसै गरी तानसेन नगरपालिका ७ बर्तुङ चोक नजिक, बगनासकाली गाउँपालिका ३ धैरेनी, बगनाशकाली गाउँपालिका ४ सेरामा र रम्भा गाउँपालिका ३ सितापहाडमा पहिरो गएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए । पहिरोका कारण बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङजा, पर्वत, बाग्लुङ जाने यात्रुलाई समस्या भएको छ । कतिपय सवारी र यात्रुहरु बिच बाटोमै अलपत्र परेका छन् ।

पाल्पाको आर्यभन्ज्याङ र दोभान तर्फबाट बाटो पन्छाउन सुरु गरिएको सडक सुचारु हुन केही घण्टा लाग्ने लाग्न सक्ने डिएसपी त्वातीले बताए । सिद्धार्थ राजमार्ग बाहेक तान्सेन रिडी खण्डको सम्मोबारीमा पनि पहिरो खसेको छ । जसका कारण गुल्मीबाट पाल्पा पनि आवगमन ठप्प भएको छ ।