पार्टीमा आउन चाहनेहरुका लागि ढोका खुला छ : रामकुमारी झाँक्री

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १३ भदौ ।

नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले आफूहरुको पार्टीमा आउन चाहने एमाले नेताहरुका लागि ढोका खुलै रहेको बताएकी छन्।

बुधबार निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गर्न पुगेकी नेतृ झाक्रीले पत्रकारहरुसँगको कुराकानीमा यस्तो बताएकी हुन्।

उनले भनिन्, ‘हामी एक प्रकारको कम्युनिष्ट आन्दोलनको पुनर्जागरणको चुनौतीपूर्ण र गौरवपूर्ण बाटोबाट हिँडेका छौं, यो अभियानमा सहमत हुनेहरु सामेल हुने हो। ‘हामो चाहनाले को आउने र नआउने भन्ने हुँदैन, त्यही भएर उहाँहरुलाई ढोका ओपन नै राख्नुपर्छ।

युवालाई उत्पादनमा लगाउने योजनासहित अघि बढ्नुस् : मन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले देशका १५ लाख युवाहरूलाई उत्पादनमा कार्यमा लगाउने योजनासहित अघि बढ्न युवाहरूलाई आग्रह गरेका छन्। योङ कम्युनिष्ट लीग (वाइसिएल)को राष्ट्रिय भेलामा मन्त्री शर्माले युवाहरूलाई संगठित गरी समाजवादी अर्थतन्त्र निर्माणमा परिचालन गर्न आग्रह गरेका हुन्।

उत्पादन अभियानमा युवाहरू दिलो ज्यानले नलागेसम्म संविधानले निर्दिष्ट गरेको समाजवादी अर्थतन्त्रमा जान सम्भव नभएको भन्दै उनले देशका १५ लाख युवाहरूलाई उत्पादन र रोजगारीमा लगाउने गरी संगठित गर्नुपर्नेमा जोड दिए। यस्तै, समाजमा भएका सांस्कृतिक विभेदहरूका विरुद्ध लड्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणको बाटोमा अग्रसर हुन मन्त्री शर्माले आग्रह गरे।

भ्रष्टाचारको अन्त्य र सदाचारको संस्कृति निर्माणको लागि समेत युवाहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले त्यसतर्फ अघि बढ्ने गरी कार्यक्रम तय गर्न सुझाव दिए। मन्त्री शर्माले युवा बहुल जनसंख्या (आर्थिक रूपले सक्रिय जनसंख्या) भएको नेपालमा विकासको लागि अबको एक दशकको समय उर्वर रहेकोले यो अवधिमा कडा मेहनत गर्नुपर्ने धारणा राख्दै आएका छन्। त्यसपछि नेपाल ‘एजिंग कन्ट्री’ मा परिणत हुँदै जाने र विकासको गति मन्द हुने आंकलन उनको छ।