कलम चिन्हको दलबारे माधव नेपालले रहस्य खोले

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १२ भदौ ।

जीवन राईको नेतृत्वमा नेकपा एकीकृत वैशाख महिनामै निर्वाचन आयोगमा दर्ताका लागि निवेदन पुग्यो । यसबारे निकै चर्चा परिचर्चा भयो । राई विगतमा माधवकुमार नेपाल पक्षकै अनेरास्ववियूका नेता थिए ।

कलम चिन्हमा खिमलाल देवकोटाले स्वतन्त्र सांसदका रुपमा राष्ट्रिय सभाको बागमती प्रदेश तर्फको उपनिर्वाचन लडे । माधव नेपालनिकट देवकोटाले बादललाई पराजित गर्दै जीत हासिल समेत गरे । त्यसपछि कलम चिन्ह लिएरै माधव नेपालले नयाँ पार्टी बनाउने चर्चा चल्यो । अहिले माधव नेपालले कलम चिन्हको रहस्य खोलेका छन् ।

आज राजधानीमा बोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने, ‘कलम चिन्ह भएको नेकपा एकीकृत खोल्ने दोस्रो पुस्ताका नेताहरु हुन् ।’ उनले अर्को खुलासा पनि गरे नेकपा लोकतान्त्रिक पनि निर्वाचन आयोगमा दर्ता भएको छ र त्यो पनि दोस्रो पुस्ताका नेताहरुले दर्ता गराएका हुन् ।

कुनैपनि नेताको नाम उल्लेख नगरी नेता नेपालले भीम रावल, घनश्याम भुसाल, गोकर्ण बिष्ट, योगेश भट्टराईलगायततर्फ संकेत गरे । विगतमा उनको पक्षमा रहेका १० नेताहरुले पार्टी विभाजन हुँदा भने साथ दिएनन् । तर, उनीहरु नै दुईवटा पार्टी दर्ता गरेर पार्टी फोड्न आफूलाई बारम्बार दबाब दिनेहरु भएको खुलासा गरे ।

नेपालले भने, ‘अर्को पार्टी बनाइहालौं भन्नुभयो । मलाई दबाब दिनुभयो । आज आएर अर्को पार्टी खोल्न पाइन्छ भन्ने ?’ उनले आफ्नो साथ छाड्ने भीम रावललगायत नेताहरुप्रति तिव्र आक्रोश पोखे । आफूलाई घचेटेर धोकाधडी गरेको समेत नेपालको आरोप थियो ।