दोलखामा स्थानीयले गाउँपालिका अध्यक्षको कठालो समाते

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १२ भदौ ।

दोलखाको मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठलाई स्थानीयले कठालो समातेका छन् । वडा नम्बर ३ का गम्भिर बिरामीलाई बोक्न एम्बुलेन्सको लागि बाटो नभएको भन्दै पालिका अध्यक्ष श्रेष्ठको स्थानीयले कठालो समातेका हुन् ।

नागरिकहरुले पालिका अध्यक्ष श्रेष्ठको कठालो समातेर हा’त,पा’त समेत गरेका बताईएको छ । गाउँपालिकाको वडा नम्बर ३ मुकुनेका गम्भिर बिरामी जनक तामाङलाई बोक्न परिवारले एम्बुलेन्स बोलायो । सडक बिग्रिएका कारण जनकलाई लिन एम्बुलेन्स घरसम्म जान सकेन ।

बिरामीका आफन्त र गाउँले सडकमा स्काभेटर लगाएर सफा गरिदिन पालिका अध्यक्षलाई फोन गरे । फोनमा अध्यक्षले बाटो सफा गर्नु पर्ने खालको नरहेको बताए । त्यसपछिको विवाद बढ्दै जाँदा स्थानीयहरूले पालिका अध्यक्ष श्रेष्ठको कठालो समातेर बिग्रिएको बाटो देखाउन लगेको फोटोमा देखिन्छ ।

जनकलाई थप उपचारका लागि आफन्तहरू काठमाण्डौँ ल्याउने तयारीमा थिए । एम्बुलेन्स बीच सडकमै फसेर पछि बिरामीका आफन्त र गाउँले आ क्रोशित बनेका हुन् । उपाध्यक्ष कल्पना भण्डारीले सामान्य विवाद भएको बताउनुभयो ।