ओलीले भने- ‘एमाले फुटेको होइन, केही विग्रिएका मान्छेले छाडेका हुन्’

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १२ भदौ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटेको नभइ केही विग्रिएका मान्छेहरुले छाडेको बताएका छन् ।

शनिबार ललितपुरको लुभुमा आयोजित युवा संघको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नव गठित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालप्रति इंगित गर्दै यस्तो बताएका हुन् ।

हालै भएको पार्टी विभाजनबाट ओलीले रुखबाट पात खसेको संज्ञासमेत दिए । यस्तै अध्यक्ष ओलीले परमादेशबाट सरकार बनाउँदैमा क्रान्ति गरेको भ्रममा सत्तारुढ गठबन्धनका नेताहरु परेको आरोप समेत लगाएका छन् ।

सरकारमा भागबण्डा मिल्यो : कांग्रेस, माओवादी, नेकपा एस र जसपालाई कति–कति मन्त्रालय ?

सत्ता गठबन्धन सम्बद्ध दलले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्रालयको संख्याको भागबण्डा टुंग्याएका छन् ।

गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (एस) र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच भदौ १४ गते मन्त्रिपरिषद् विस्तार गर्ने सहमतिसहित मन्त्रालयको संख्यामा भागबण्डा मिलेको छ ।

गठबन्धनका दलका एक नेताका अनुसार कांग्रेसले कूल ७, माओवादी, नेकपा एस र जसपाबीच समान रूपमा १ राज्यमन्त्रीसहित ६–६ मन्त्रालय बाँडफाँड गर्ने सहमति भएको छ ।

संविधानमा भएको व्यवस्थाअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा क्रल २५ मन्त्री मात्र राख्न पाउने छन् ।

स्रोतले भन्यो, ‘मन्त्रालयको भागबण्डा मोटामोटी सकियो, सम्भवतः १४ गते मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ, कांग्रेसले कूल ७, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपाले समान रुपमा १ राज्यमन्त्रीसहित ६/६ मन्त्रालय लिने गरी सहमति जुटेको छ, सम्भवतः त्यही दिन नै मन्त्रिपरिषद् विस्तार हुन्छ ।’

असार २९ गतेमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री देउवाको मन्त्रिपरिषद्मा हाल १ राज्यमन्त्रीसहित ५ जनामन्त्री छन् । सरकार बनेको डेढ महिना हुँदा समेत प्रधानमन्त्री देउवाले सरकार विस्तार गर्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

बालुवाटार स्रोतका अनुसार सत्ता गठबन्धनमा रहेका दलबीच मन्त्रालयको संख्याको भागबण्डा टुंगिएपनि प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम पाइसकेका छैनन् । प्रधानमन्त्री देउवाले अब गठबन्धनमा रहेका ती दलबाट मन्त्रीको नाम आएपछि भदौ १४ गते सरकार विस्तार गर्ने तयारी गरेका छन् ।