एमालेका १४ भाइ बिद्रोहीको पद झण्डै चट

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १२ भदौ ।

एमालेबाट विद्रोह गरी नयाँ दल दर्ताको प्रमाणपत्र पाइसक्दा पनि माधव नेपालसहितका १४ जनाको सांसद पद निर्वाचन आयोग र संसद सचिवालयका कर्मचारीहरुवीच समन्वय नहुँदा अस्ति झण्डै खुस्किएन । सरकारका दुई निकायबीच प्रक्रियागत सेटिङ्ग मिलाएर माधव पक्षलाई अप्ठेरो बनाउने प्रयास भैरहेको एकथरीले आशंका समेत गरेका छन् ।

निर्वाचन आयोगले बुधबार माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी औपचारिक रुपमा दर्ता गरे पनि संसद सचिवालयलाई हिजो दिउँसोसम्म पनि त्यसको जानकारी गराइएको थिएन । सामान्यतया: दल दर्ताको प्रमाणपत्र दिएपछि लगत्तै संसदलाई पत्र पठाउने अभ्यास छ । तर,दुवै निकायका कर्मचारीले कलम नचलाउँदा एकीकृत समाजवादीका नेताहरु हिजो दिनभर तनावग्रस्त थिए ।

आज शनिवार, पर्सि कृष्णाष्टमीको छुट्टी, प्रमुख आयुक्त भवन उदघाटन गर्न रामेछाप- यस्तो बेला १/२ दिन मात्रै यताउति परेको भए संसद सचिवालयले १४ दिनको भाकाभित्र एमालेको पत्रबमोजिम १४ भाइ सांसदउपर कारवाहीबारे टिप्पणी उठाएर सदरका निम्ति सभामुखको टेबलमा पुर्याउने गरी तयारी अघि बढिसकेको बताइन्छ ।

एकातिरबाट पत्र रोक्ने र अर्कोतिर सभामुखलाई दबाब बढाएर अन्तिम प्रयास गर्न दुबैतिरका “खाँटी कर्मचारी” लागि परेको दाबी पनि गरिएको छ ।
जन आस्था