ललितपुरमा बाढीले बगाएर एकको मृत्यु, बालिका बेपत्ता

हाम्रो सन्देश संवाददाता

ललितपुर, १२ भदौ ।

दक्षिण ललितपुरको बागमती गाउँपालिका–६ आश्राङ र वडा नम्बर ७ गिम्दीको संगमस्थल शुभाने खोलामा बगेर एक महिलाको मृत्यु हुनुका साथै एक बालिका बेपत्ता भएकी छन् ।

तीन दिनदेखि आएको अविरल वर्षासँगै शुक्रबार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया महिलाको मृत्यु भएको हो । वडा नम्बर ७ का वडाध्यक्ष नवराज सञ्जेलले दिउँसो साढे ४ बजेतिर खोला तर्ने क्रममा आएको बाढीले बगाउँदा करिब आठ वर्षीया बालिका बेपत्ता भएको जानकारी दिए ।

स्थानीयवासी उद्धव घिमिरेका अनुसार ज्यान गुमाउनेमा स्थानीय सञ्जु सिङतान भएको बताए । महानगरीय प्रहरी वृत चापागाउँका प्रहरी निरीक्षक राजेन्द्र क्षेत्रीले घटनाको सूचना पाउनासाथ प्रहरी टोली घटनास्थलतर्फ लागेको जानकारी गराए । -फाइल तस्वीर