माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १० भदौ ।

नेकपा एमालेबाट विद्रोह गरेर माधव नेपालको नेतृत्वमा गठन भएको नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट वैधता पाएको छ ।

आयोगले दल दर्ता निवेदनमा उल्लेख भएका केन्द्रीय सदस्यहरुको भौतिक उपस्थितिमार्फत हस्ताक्षर सनाखत गरेपछि आज दल दर्ता गरेको हो ।

ओलीविरुद्ध लामो समयदेखि अन्तर्पार्टी संघर्ष गर्दै आएका माधव नेपालले अन्ततः सरकारले ल्याएको अध्यादेशका कारण सहज भएपछि दल दर्ताको निवेदन दिएका थिए ।

आज निर्वाचन आयोगमा ५५ जना केन्द्रीय सदस्य सशरीर उपस्थित भएका थिए । एकीकृत समाजवादीले थप ४ जना केन्द्रीय सदस्य समेत आफूसँग भएको बताएको छ । एमालेका ३४ जना सांसद समेत माधव नेपालको नयाँ पार्टीमा रहेका छन् ।

ठाकुर र महतोको लोकतान्त्रिक समाजवादी पार्टीले पायो नयाँ दलको मान्यता

महन्थ ठाकुरको नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नयाँ दलकाे मान्यता पाएकाे छ । बुधबार आयोगले केन्द्रीय सदस्यहरूकाे सनाखत गरेपछि नयाँ दल दर्ता भएकाे हाे । जसपाका १४ जना सांसदले नयाँ दल दर्ताका लागि गरेको हस्ताक्षर सनाखत भएपछि आयोगले लोसपालाई छुट्टै दलको रुपमा दर्ता गरेको हो ।

सरकारले राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य संख्या भए पुग्ने अध्यादेश ल्याएपछि महन्थ ठाकुर पक्षले भदौ २ गते लोसपा दर्ताका लागि आयोगमा निवेदन दिएको थियो । त्यसका लागि निर्वाचन आयोगले बुधबार सनाखतका लागि बोलाएको हो ।