नेकपा (एकीकृत समाजवादी)मा २९ सांसद र ५४ केन्द्रीय सदस्यको सनाखत

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ९ भदौ ।

नवगठित नेकपा (एकीकृत समाजवादी)का पक्षमा २९ सांसद उभिएका छन् ।

केन्द्रीय सदस्य जगन्नाथ खतिवडाका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका गरी २९ सांसदले निर्वाचन आयोग पुगेर पार्टी दर्ताका पक्षमा सनाखत गरेका हुन् ।

यस्तै, पार्टी वरिष्ठ नेता झलनाथ खनालसहित ५५ जना केन्द्रीय सदस्य सनाखतमा सहभागी भएका छन् । नयाँदिल्लीमा उपचाररत वरिष्ठ नेता खनालले त्यहाँस्थित नेपाली दूतावासमार्फत पार्टी दर्ताका पक्षमा सनाखत गरेका हुन् ।

वरिष्ठ वामपन्थी नेता प्रदीप नेपालले पनि आयोग पुगेर सनाखत गरेका छन् । यसअघि पार्टी दर्ताका लागि निवेदनमा हस्ताक्षर गरेका केही केन्द्रीय सदस्य भने सनाखतमा उपस्थित भएनन् ।

२४ घण्टामा २४८२ कोरोना संक्रमित थपिए, ४४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशका विभिन्न स्थानमा गरिएको पीसीआर परीक्षणमा १८६२ र एन्टीजेनमा ६२० गरी २४८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ९७११ पीसीआर र ५५७९ एन्टीजेन परीक्षण भएका छन। मन्त्रालयका अनुसार सोही समयमा संक्रमणबाटथप ४४ जनाको मृत्यु भएको छ ।