श्रीमतीको गुँडनै थुपार्न थाले पछि सुदुरपश्चिममा एमाले नेताको बदनामी

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ९ भदौ ।

दुईतिहाइ बहुमतसहितको सरकारलाई घ्याम्पो फोडेजस्तै फोडेर बालुवाटारबाट बालकोट पुगेका केपी शर्मा ओलीले एमालेलाई पनि एकजुट हुन दिएका छैनन् । अझै संसद्मा उल्टै दुईतिहाइ ल्याउने घमण्ड गर्दैछन् । पार्टी विभाजनको असरले जिल्ला, गाउँ तहसम्मै फुट ल्याएको छ । माधव नेपाल समूह छुट्टिएर हिँडेपछि नेकपा एमालेले सुरु गरेको स्थानीय तथा जिल्ला कमिटीहरुको पुर्नगठन अभियान पनि कमजोर बन्दै गएको छ ।

पुरानो कमिटीहरुलाई पूर्णता दिने नाममा एमाले कैलालीले बाटोमा हिडिरहेका मान्छेलाई समात्दै जिल्ला सदस्य बनाएको आरोप खेप्नु परेको छ । यो भन्दा दयनीय अवस्था अरु के हुनसक्छ ।

गत बुधबार बसेको जिल्ला कमिटीको बैठकमा कमिटीलाई पूर्णता दिनेक्रममा कोरम नै पुगेन। कोरम नपुगेपछि पार्टीका सामान्य कार्यकर्तालाई घर–घरबाट बोलाएर जिल्ला कमिटीमा राखेको नयाँ मनोनित एक जिल्ला सदस्यले दृष्टिलाई बताए ।

उनले दृष्टिसँग भने, ‘सुरुमा केही नेताहरुले आफू निकटकालाई जिल्ला कमिटीमा राखे । त्यतिले पनि कमिटी पूर्ण नहुने भएपछि हामीलाई पनि बोलाएर कमिटीमा राखे ।’ घर–घरदेखि बोलाएर कमिटीमा राख्दा पनि कमिटीले पूर्णता नपाएपछि झोलामा माइन्युट हालेर जिल्ला सचिव दान बहादुर विश्वकर्मा कुदिरहेका छन् । पार्टी फुटको असरले कैलाली एमाले आक्रान्त बनेको छ । तर, केन्द्रमा ओलीको चुरीफुरी अझै बढ्दो छ ।

एमाले उपाध्यक्ष भीम रावल मौन बसेकाले पनि कैलाली जिल्लामा ठूलो संख्यामा नेता कार्यकर्ताहरु अन्यौलमा छ्न् । कैलाली एमालेका कमिटीहरुमा ७५ प्रतिशत भीम रावलको पक्षमा रहेको बताइएको छ । नेता रावल मौन बसेको बेला ओली पक्षले हतारमा कमिटी पुर्नगठन गर्न थालेपछि जिल्ला कमिटी विवादित बनेको हो ।

जिल्ला कमिटीले पूर्णता नपाएपछि माओवादीले एकलैटी कब्जा गर्न खोजेको आरोप एमालेले लगाउन थालेको छ । लेखराज भट्ट एमालेमा प्रवेश गरेपछि माओवादीहरुले भट्टको साथ छोडेका छन् भने एमालेले उनलाई पत्याएको छैन । जसका कारण माओवादी छाडेकोमा भट्ट पछुताएका छन् ।

बहुपत्नीको आरोप

प्रदेश इन्चार्ज लेखराज भट्ट, सहइन्चार्ज नारदमुनि राना अध्यक्ष कर्ण थापादेखि जिल्ला अध्यक्ष रतन थापासम्मलाई बहुपत्नीको प्रश्नको सामना गर्नु परिरहेको छ । उनीहरु भन्दा तलका नेता–कार्यकर्ता पनि बदनाम हुँदै आएको छ ।

भट्टले त २०७२ सालमा ५७ वर्षको उमेरमा ताप्लेजुङकी ३० वर्षीय युवती विष्णु आचार्यसँग गोप्य रुपमा दोस्रो विवाह गरेका थिए भनिन्छ । उक्त विवाहपछि पार्टीमा भट्टको चर्को आलोचना भएको थियो । माओवादीबाट पटक–पटक मन्त्री भएका भट्टमाथि राज्य शक्तिको दुरुपयोग गरेर अकूत सम्पत्ति कमाएको आरोप लाग्ने गरेको छ । पछिल्लोपटक उद्योगमन्त्री हुँदा पनि मदिरा व्यवसायी, एनसेल, सुपारी तस्करहरुबाट करोडौं रकम उठाएको आरोप छ ।

त्यसैगरी प्रदेश सहइन्चार्ज नारदमुनी राना पनि बहुविवाहमा मुछिएका नेता हुन् । कान्छिलाई आफूसँगै डुलाउने र जेठीलाई चुलाचौकामा थन्काएको भन्दै रानाको आलोचना हुने गरेको छ । २० लाख रुपैयाँमा रातो पासपोर्ट बेचेको विषयमा रानामाथि सर्वोच्च अदालतमा विचाराधिन मुद्दा छ ।

कर्ण थापाकी जेठी श्रीमती बाजुरामा घाँस दाउरा गरेर दिन बिताइरहेकी छन् भने, यता कमला ओली काका केपीको कृपाले आधा करोडको गाडी र लाख बढी तलब सुविधासहित सूचना आयोगमा माननीय सदस्यको रुपमा नियुक्ति खाइरहेकी छन् ।

यस्तै जिल्ला अध्यक्ष रतन थापा पनि दुई स्वास्नी स्याहार्ने नेता तथा प्रदेश सांसद हुन् । कान्छी स्वास्नी टीका लम्कि चुहा नगरपालीकाको उप मेयर छन् ।

मदिराको तालमा रहेको अवस्थामा गत वर्ष एक महिलासँगको कैलालीका अध्यक्ष दिर्घ सोडारीको अडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । उक्त प्रकरणमा ओलीले उनलाई निलम्बन गरेका थिए । सोडारीको निलम्बनपछि रतन थापा अध्यक्ष भए ।

केही समयपछि थापाको पनि महिलासंगको आपत्तिजनक संवाद अडियोका रुपमा भाइरल भयो । तर, थापालाई कुनै कार्वाही भएन । एउटै प्रकृतिका मुद्दामा सोडारीलाई पेलेको र थापालाई जोगाएको भन्दै रावल पक्षले तीव्र आलोचना गरेको थियो । सोडारी रावल पक्षधर हुन् ।

यसरी पार्टी टुक्राटुक्रा भएका बेला सुदूरपश्चिममा हतारले बदनाम भएका नेताहरुबाट ओली नेतृत्वको एमालेको संगठन निर्माण कतिको प्रभावकारी होला रु र, आगामी निर्वाचनमा जनताले कसरी पत्याउलान भनेर सुदूरपश्चिमका इमान्दार र स्वच्छ छवि भएका कार्यकर्ताहरु चिन्तित देखिएका छ्न् । गत आम निर्वाचनमा माओवादीसँग चुनावी एकता गरेपछि संघ, प्रदेश र स्थानीय निकायमा भोटको भेल बगेको थियो । अब नेकपा तीन टुक्रामा विभाजित भएपछि आगामी निर्वाचनमा ओली गुटले सुदूरपश्चिममा धुलो चाट्नुपर्ने देखिन्छ । सुदूरपश्चिमका जनताले यो सबैको दोष ओलीमाथि थोपरेका छन् ।