चन्द्रागिरी मिसन विफल पार्न राजनीतिका चतुर खेलाडी ओलीले चाले यति कडा कदम, अब माधव नेपालको गेम फिनीस

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ८ भदौ ।

माधव नेपालको चन्द्रागिरी मिसन विफल हुने संकेत देखिएको छ । एमाले फुटाएर एकिकृत समाजवादी पार्टी नेपाल दर्ताका लागी निर्वाचन आयोगमा निवेदन दिएका नेताहरु माथि नेकपा एमालेले निर्वाचन आयोगमै पुगेर एक्सन लिएका हुन् ।

नेकपा एमालेले पार्टी केन्द्रीय कमिटी र संसद सदस्यबाट कारवाही गरिएका १४ जनाको हस्ताक्षर दल विभाजनमा मान्य नहुने भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

एमालेले माग गरे बमोजिमको निर्णय गरेमा स्वयमं माधव नेपालले पनि नयाँ पार्टीको पक्षममा सनाखत गर्न पाउँने छैनन् । अध्यादेशमा भएको व्यवस्था बमोजिम २० प्रतिशत त्यस्तो अवस्थामा पुग्ने छैन। पार्टी विभाजन रोक्न एमालले अन्तिम कसरत गरिरहेको छ ।

एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलसहितको टोली आज आयोगमा पुगेर दल विभाजनका लागि दिएका निवेदन र हस्ताक्षर गर्नेहरूको विवरण लिएको हो । एमालेले माधव नेपालसहित १४ जनालाई भदौ १ गते नै निष्कासन गरेको विवरण आयोगमा बुझाइसकेको भन्दै उनीहरूको हस्ताक्षरलाई मान्यता नदिन आग्रह गरेको छ ।

आयोगबाट फर्केपछि एमाले नेता खरेलले सभामुखले एमालेको कारवाहीलाई अघि बढाएनन् भन्दैमा निर्वाचन आयोगले कानूनविपरीत जान नमिल्ने बताए । एमालेले भदौ १ गते १४ सांसदलाई पदमुक्त गरेको पत्र संसद सचिवालयमा दर्ता गराएको थियो ।

उनीहरू पार्टी सदस्यबाट निष्कासनमा परेको पत्र निर्वाचन आयोगमा समेत सोही दिन बुझाइएको थियो । नेपालले भदौ २ गते नेकपा एमाले विभाजनका लागि नयाँ दल दर्ताका निवेदन दिएका थिए ।

पार्टीले निष्कासन गरिसकेका व्यक्तिले एमाले केन्द्रीय सदस्यको हैसियतमा दल विभाजनमा हस्ताक्षर गरेकोमा त्यो मान्य हुन नसक्ने खरेलले बताए । १४ जना सांसदमध्ये ९ जना केन्द्रीय सदस्य छन् ।

त्यस्तै एमालेले जसले दल विभाजनको बेला हस्ताक्षर गरेका छन् उनीहरूको मात्र सनाखत हुनुपर्ने र व्यक्ति आफैं उपस्थित भएर गरेको सनाखत मात्र मान्य हुने बताएको छ । एमालेका ५८ केन्द्रीय सदस्यले दल विभाजनमा समर्थन गरेको भनेर पेश गरिएको निवेदनमा ७ जनाको हस्ताक्षर नरहेको आयोग स्रोतले जनाएको छ ।

दल दर्ताको निवेदन दिने बेला हस्ताक्षर गरेका बाहेक अरु नयाँ थपेर सनाखत नगर्न समेत एमालेले आयोगको ध्यानाकर्षण गराएको छ । आयोगले माधव नेपाल पक्षलाई सनाखतका लागि बुधबार ११ देखि २ बजेको समय तोकेको छ । आयोगले सनाखतका लागि शशरीर उपस्थित हुनुपर्ने बताएको छ ।