अरिंगालले टोकेर पिसाब बन्द, अपरेशनपछि सास बन्द, अस्पताल तनावग्रस्त

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ४ भदाै ।

अरिंगालले टोकेर उपचारको निम्ति ल्याइएका बिरामीको अस्पतालको लापरबाहीले ज्यान गएको भन्दै आफन्तले नाराबाजी गरेपछि स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल तनावग्रस्त भएको छ । अरिंगालले टोकेपछि धादिङ निलकण्ठ नगरपालिका ११ का ५५ वर्षीय धनबहादुर गुरुङलाई उपचारको निम्ति उक्त अस्पतालमा ल्याएर भर्ना गरिएको थियो ।

अस्पताल स्रोतका अनुसार बिरामीको पहिले पिसाब बन्द भएको थियो । पिसाब खुलाउन गरिएको अपरेशनपछि गुरुङको निधन भएको हो ।

तर मृतकका आफन्तले अस्पतालले आफूहरुसँग कुनै सल्लाह र मञ्जुरी नलिई अपरेशन गरेको र सो क्रममा बिरामीको मृत्यु भएको आरोप लगाएका छन् ।

अस्पतालको लापरबाहीका कारण बिरामीको ज्यान गएकाले क्षतिपूर्तिको माग गर्दै झण्डै दुई दर्जन आफन्तले अस्पताल हातामा नाराबाजी गरिरहेका छन् । नाराबाजीपछि अस्पताल हाता अहिले तनावग्रस्त भएको छ । जन आस्था