साइबर स्यालहरुले फोटो इडिट गरेर चरित्या हत्या गर्न खोजे : विमला वली

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३ भदाै ।

लुम्बिनी प्रदेशसभा सदस्य बिमला कुमारी वलीले सामाजिक सञ्जालमा भाइरल बनिरहेको एउटा फोटो फेक रहेको बताएकी छन।

दिवंगत सांसद उत्तरकुमार ओलीकी धर्मपत्नी रहेकी विमलाले युवकलाई चुम्बन गरिरहेको जस्तो देखिने फोटो सोमबार सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

वाईसियलका कार्यकर्ता एकराज बस्नेतको फेसबुक स्टोरीमा अचानक देखिएको सो फोटोमा विमलाले बस्नेतलाई चुम्बन गर्न लागेको जस्तो देखिएपछि वलीको चौतर्फी आलोचना हुन लागेको छ।

तर, वलीले फोटो इडिट गर्दै साइबर स्यालहरुले आफ्नो चरित्रहत्या गर्न खोजेको बताएकी छन। बुधबार विज्ञप्ति जारी गर्दै वलीले राजनीतिक प्रतिशोध साँधेर फसाउन खोजिएको आरोप लगाएकी छिन्।

‘हिजो एकाएक सामाजिक सञ्जालमा मेरो फोटोलाई फोटोसपबाट मिलाएर जुन किसिमले चरित्रहत्या गर्ने दुस्प्रयास गरियो यसको म कडाभन्दा कडा निन्दा गर्न चाहन्छु,’ उनले भनेकी छिन्, ‘एकाएक मेरो फोटो जोडेर आउँदा म आफैँ आश्चर्यचकित भएकी छु। म यो घटनामा सम्बन्धित छैन र जानकार पनि छैन। मेरो चरित्रमाथि दाग लाग्ने गरी ‘साइबर स्याल’हरूबाट जुन दुस्प्रयास भयो, यसको कडाभन्दा कडा कारबाहीको माग गर्दछु।’

आफूले माओवादी पार्टी रोजेपछि एमालेमै रहन पटक–पटक दबाब दिइएको भए पनि आफू प्रतिबद्ध भएर माओवादी केन्द्रमै रहेपछि चरित्रहत्या गर्न खोजिएको उनको आरोप छ।

‘मैले प्रदेश सभाको निर्वाचनमा दाङ क्षेत्र ३ (२) बाट तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट निर्वाचित भएँ र पछि माओवादी केन्द्र र एमाले आफ्नै अस्तित्वमा गएपछि मैले माओवादी केन्द्र रोजेँ,’ उनले अगाडी भनेकी छिन्, ‘माओवादी केन्द्र रोजेपछि केही तत्वहरूबाट ममाथि पटक–पटक आक्रमण गर्ने प्रत्यत्न गरिरहेका थिए। मुख्यमन्त्री कार्यालयमा एक हप्ता बन्धक बन्नु पनि त्यसैको उपज थियो। अहिले पनि पटक–पटक मलाई पार्टी परित्याग गर्न दबाब आइरहेको थियो। तर, म आफ्नो पार्टीप्रति प्रतिबद्ध हुँदा मेरो राजनीतिक जीवनलाई धरापमा पार्ने दुस्प्रयासस्वरूप नै मेरो चरित्रहत्या गर्न खोजिएको हो। यसमा कोही पनि भ्रममा नपर्न अनुरोध गर्दछु।

यसैबीच, वाइसिएल कार्यकर्ता बस्नेतले पनि आफ्नो स्टोरीमा उक्त फोटो कहाँबाट आयो भन्नेबारेमा खोजी गरिरहेको बताएका छन।

बस्नेतले आफ्नो फेसबुक कसैले ह्याक गरेर फोटोसपबाट तस्बिर जोडेर भ्रम छर्न खोजेको बताएका छन्।