एमालेले आयोगमा पठायो २६० केन्द्रीय सदस्यको सूची, ८ समानुपातिक सांसदलाई हटाउने तयारी

हाम्रो सन्देश संवाददाता

काठमाडौं ,१ भाद्र ।

सरकारले दल विभाजन सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष पठाउने निर्णय गरेपछि लामो समय देखि विवादमा रहेको नेकपा एमालेमा हलचल भएको छ । संस्थापन पक्षले त्यसको चर्को विरोध गरेको छ । मंगलवार नयाँ बानेश्वरमा बसेको संसदिय दलको बैठकले यसको विरोध गरेको हो । साथै बैठकले तीन दिन भित्र संसद बैठक बोलाउन माग समेत गरेको छ । आफ्नो पार्टी फुटाउने उद्देश्यका साथ अध्यादेश ल्याएको भन्दै विरोध गरेको हो ।

त्यस्तै नेकपा भंग भएपछि नेकपा एमालेको अवस्था सहित अध्यावधिक गर्न पार्टीले निर्वाचन कार्यालयमा केन्द्रीय सदस्यको सूची निर्वाचन आयोगमा पठाएको छ । एमाले केन्द्रीय कार्यालयले २६० सदस्यीय केन्द्रीय कमिटीको सूची आयोगमा पठाएको हो । नेकपा भंग पछि एमालेको केन्द्रीय कमिटी अध्यावधिक गरिएको छैन ।

नेकपाको एकता खारेज भएसँगै पुनर्स्थापित एमालेमा २६४ जना छन् । उनीहरुमध्ये केहीको मृत्यु भएको र केही राजनीतिक नियुक्तिमा गएकाले २६० जनाको विवरण अध्यावधिक गर्न पठाइएको हो । हाल आयोगमा भने एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीको विवरण मात्र छ ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत भए दल विभाजन गर्न पाउनेगरी अध्यादेश पारित गरे लगत्तै एमालेले केन्द्रीय कमिटीको विवरण अद्यावधिक गरेको हो । अब एमाले विभाजनका लागि माधव नेपाललाई कम्तीमा ५२ जना केन्द्रीय सदस्य आवश्यक पर्छ । ज्वालाबाहेक सबै सदस्य यथावत राखेर विवरण पठाइएको छ ।

यस्तै समानुपातिक ८ सांसदलाई पनि कारबाही गर्ने तयारी छ । यसअघि सोधिएको स्पष्टीकरणकै आधारमा उनीहरुलाई कारबाही गर्न लागिएको एक नेताले जानकारी दिए ।