एमसीसीको जग्गा कब्जा,केही संरचना बनाए ध्वस्त पार्ने चेतावनी

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ३१ साउन ।

नुवाकोटको बेलकोटगढी नपा वडा नं ७ रातमाटेमा एमसीसीका लागि अधिग्रहण गरिएको करिब ४ सय रोपनी जग्गामा स्वतन्त्र उन्नत लोकतन्त्र पार्टी (एडीपी) र स्वतन्त्र राष्ट्रिय अभियान नेपालले राष्ट्रिय झण्डा गाडेर कब्जामा लिएको घोषणा गरेका छन् ।

शनिबार अधिग्रहण स्थलमा प्रदर्शन गर्दै राष्ट्रिय झण्डा गाडेर सो स्थान कब्जा गरेको घोषणा गरिएको उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालले जानकारी दिए । एमसीसीले सो जग्गामा कुनै पनि संरचना निर्माण गरेमा ध्वस्त गर्ने नेपालले चेतावनी समेत दिए ।
जमीन वरपर र उक्त वडाका विभिन्न स्थानमा नारा जुलुससहित एमसिसी चाहिँदैन, नेपाल आमा जिन्दावाद, विदेशी हस्तक्षेप मुर्दावाद, आमन्त्रित हस्तक्षेप मुर्दावाद लगायतका नारा लगाउँदै शनिबार दिनभर प्रदर्शन गरिएको थियो।

कार्यक्रममा एमसिसीले अधिग्रहण गरेको जग्गामा झण्डा गाड्दै उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष तथा अधिवक्ता स्वागत नेपालले सो स्थानमा उप्रान्त एमसिसीको कुनै पनि संरचना निर्माण गरिएमा तत्काल ध्वस्त बनाइने चेतावनी दिए।

उनले अधिग्रहण गरिएका व्यक्तिहरुलाई प्रलोभन, झुक्यान र डर धाकधम्की दिएर एमसिसी पक्षधर नेता र प्रशासकहरुले जमीन अधिग्रहण गरेको कारण उक्त स्थानमा राष्ट्रिय कृषि विश्वविद्यालय, अनुसन्धानशाला वा खेलकुद रंगशाला निर्माण गरिनु पर्ने पनि बताए।

कार्यक्रममा स्थानीय अधिग्रहण पीडित ७० वर्षीय बालकृष्ण न्यौपानेले आफूहरुलाई झुक्याएर जग्गा अधिग्रहण गरिएको बताए। स्थानीय राममणि नेपालले पनि आफूहरुलाई एमसिसीका कर्मचारी, स्थानीय जनप्रतिनिधीहरुको नाम नै उल्लेख गरेर आफूहरु एमसिसीविरुद्ध बोलेमा जे पनि गर्न सक्ने धम्की दिने गरेको बताए। सो स्थानमा प्रतिकारका लागि पाँच सय सदस्यीय एमसिसी प्रतिकार समिति पनि गठन गरेको घोषणा गरिएको थियो।

कार्यक्रममा उन्नत लोकतन्त्र पार्टीका केन्द्रीय सदस्यहरु कृष्ण प्रसाई, राम राजा आचार्य, शिवराम थापा, दुर्गा बस्नेत, नरेन्द्र कुमार शाह, अभियानका केन्द्रीय सदस्य, इन्द्र कालिकोटे, दीपेन्द्र मोक्तान, संगीता घिमिरे, मीना बस्याल, मोहन सोती, विद्यार्थी संगठनका अध्यक्ष के के थापा लगायतले एमसिसी नेपालको संविधानभन्दा माथि भई नेपाललाई कानुनी रुपमा अमेरिकी उपनिवेस बनाउने चाल भएकोले निस्तेज बनाउन आफूले जुनसुकै मुल्य चुकाउन तयार रहेको बताएका थिए।