जोखिम बढ्दै गएपछि निषेधाज्ञा भदौ ११ गतेसम्‍म थप गरियो , सार्वनजिक तथा नीजी सवारी चलाउन रोक

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ३१ साउन ।

महामारीको जोखिम बढ्दै गएपछि गोरखामा १० दिनका लागि निषेधाज्ञा जारी भएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकको सिफारिसमा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले निषेधाज्ञा जारी गरेका हुन् । भदौ १ गते राति १२ बजेबाट ११ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी भएको जिल्ला प्रशासन कार्यालय गोरखाका अधिकृत हर्क रोकाले बताए ।

उनका अनुसार दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूल, माछा, मासु, कृषिजन्य विउविजन र निर्माण सामग्री बिक्री वितरण गर्ने पसलसँगै वर्कशस बिहान ५ देखि १० बजेसम्म मात्र खोल्न पाइने छ । यी बाहेकका अन्य सबै पसलहरु भने बन्द रहने छन् । औषधी र पेट्रोल पम्प भने २४ सै घण्टा खुल्ला रहनेछ ।

बैठकले गरेको निर्णय अनुसार सहकारी, लघुवित्त, बिमा कम्पनी लगायतका वित्तिय संस्थाको सेवा प्रवाह बन्द हुनेछन् । बैकको हकमा गोरखा नगरपालिका भित्रका बैकले सम्पर्कको आधारमा आकस्मिक सेवा मात्र प्रवाह गर्न पाउने छन् । अन्य पालिकाको हकमा सम्बन्धित पालिकाको निर्णय अनुसार बैकको सेवा सञ्‍चालन हुने बताइएको छ ।

गोरखा नगरपालिका क्षेत्रभित्रका बैंकहरुले सम्पर्कका आधारमा दिने अत्यावश्यक सेवाका लागि सम्पर्क व्यक्ति तथा सम्पर्क नम्बरसहितको सार्वजनिक सूचना प्रकाशन गरी आकस्मिक सेवा मात्र प्रवाह गर्न पाउने छन् । अन्य पालिकाको हकमा सम्बन्धित पालिकाले गरेको निर्णय अनुसार बैंकको सेवा सञ्चालन हुने छ ।