२२ वर्षे नेपाली ह्याकर, जसले फेसबुकबाट चार महिनामै कमाए ९ लाख रुपैयाँ

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

पछिल्लो समय साइबर सुरक्षा अनुसन्धान तथा बग बाउन्टी नेपाली युवाहरूमाझ निकै आकर्षणको विषय बनेको छ । प्राविधिक विषय अध्ययन गरेका मात्र नभई, गैरप्राविधिक युवाहरूले पनि यसबाट राम्रो आम्दानी र प्रशंसा बटुलिरहेका छन् ।

यिनै युवामध्येका एक हुन्, तनहुँ भिमाद नगरपालिकाका २२ वर्षीय सुदीपराज अर्याल । पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थान पोखरामा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नातक गरिरहेका उनी पनि पछिल्लो समय साइबर सुरक्षा तथा बग बाउन्टी प्लेटफर्महरूमा जोडिएका छन् ।

एकपछि अर्को रुपमा आइरहेको कोरोना महामारीका तरङ्गले अध्ययन-अध्यापन नराम्रोसँग प्रभावित बनेको छ । कक्षा जेनतेन अनलाइनमा चलिरहेका छन् ।
पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थानमा स्नातक तहको सातौं सेमेस्टरको कक्षा पुरा भइसकेका छन् । त्यसको परीक्षा दिनुपर्ने बेला अहिले अर्याल छैटौँ सेमेस्टरको परीक्षा दिइरहेका छन् ।

कलेजका कक्षा र परीक्षा नियमित तालिकामा अगाडि बढ्न नसक्दा विद्यार्थीहरू केही फुर्सदिला भएका छन् । आफ्नो यस्तो फुर्सदिलो समयलाई अर्यालले भने बग बाउन्टीमा लगाए । कोरोनाको दोस्रो लहरसँगै उनी ‘ह्याकर वन’ नामक बग बाउन्टी प्लेटफर्ममा जोडिए ।

यसैबीच टेकपानामा पनि बग बाउन्टीबाट युवा-विद्यार्थीहरूले लाखौं आम्दानी गरेका प्रेरक कथाहरू आए । जसमध्ये एक उनीसँगै पढ्ने साथी प्रकाश पन्तको कथा पनि थियो । तिनै पन्तको सल्लाह तथा सहयोगमा उनले बग बाउन्टीका विभिन्न विषयमा चासो राख्न र सिक्न थाले ।

‘कोरोनाको सेकेन्ड वेभसँगै कलेज बिदा भयो,’ उनी सुनाउँछन्, ‘त्यही बिदाको समयमा मैले बग हन्टिङ सुरु गरेको थिएँ ।’ २०७७ को चैतमा ह्याकरवनबाट बग बाउन्टी सुरु गरेका उनको पहिलो बग नै ‘भ्यालिड’ (प्रमाणीत) भयो ।

त्यसबेला उनले अलिक प्राविधिक किसिमका बगहरू खोज्ने र रिपोर्ट गर्ने गर्थे । ‘लिभर पे’को उक्त बगका लागि सुदीपले प्वाइन्टमा मात्रै चित्त बुझाउनु पर्‍यो ।

तर त्यसमा ‘बाउन्टी’ (सुरक्षा कमजोरी फेला पारेबापत प्राप्त हुने रकम) भने थिएन । यसरी उनले ८-९ वटा बग रिपोर्ट गरे । त्यसपछि भने उनी फेसबुकमा बग खोज्न थाले ।

यसक्रममा गएको वैशाखमा पाँच सय अमेरिकी डलर बाउन्टी रिवार्ड हात लाग्यो । यो नै उनको पहिलो बग बाउन्टी रिवार्ड थियो । हालसम्म आइपुग्दा उनले फेसबुकमा १५ ओटा बग रिपोर्ट गरिसकेका छन् ।