एमसीसी पास भएपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने, ६ मन्त्री थप्ने तयारीमा प्रधानमन्त्री

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २८ साउन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग नियोक (एमसीसी) पास भएपछि मात्रै आफू नेतृत्वको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

अघिल्लो पटक आफू प्रधानमन्त्री भएको बेलामा हस्ताक्षर भएको एमसीसी प्रतिनिधि सभाबाट पास भएपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने आफ्नो मनोकांक्षा रहेको देउवाले सत्ता गठबन्धनका शीर्ष नेता र आफू सभापति रहेको नेपाली कांग्रेसका नेताहरुलाई बताइसकेका छन् ।

आफ्नै पालामा एमसीसीमा हस्ताक्षर भएको र कार्यान्वयन गर्ने म्याद अन्तिम अवस्थामा पुगेको भन्दै पहिलो प्राथमिकता त्यसलाई दिने देउवाको तर्क छ ।

एमसीसीमा हस्ताक्षर यो भन्दा अघिल्लो पटक देउवा प्रधानमन्त्री भएका बेला अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गरेका थिए । कार्की अहिलेको सरकारमा पनि कानुन न्याय तथा संसदीय मामिलामन्त्री छन् । त्यही भएर पहिला एमसीसी पास गर्ने, त्यसपछि मात्रै अन्य काम गर्ने तयारी देउवाको छ ।

नेताहरुले पहिला एमसीसी पास गरेपछि मात्रै मन्त्रिपरिषद् विस्तार गरेमा विरोध गर्ने नेताहरु पनि मन्त्री पाउने आशमा विरोध गर्न नसक्ने सुझाव देउवालाई दिएका छन् ।

कांग्रेसमा एमसीसीमा विरोध नरहे पनि सत्तारुढ माओवादी र एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा एमसीसी पास गर्न हुँदैन भन्ने चर्को विरोध छ ।

‘हामीले पहिला एमसीसीलाई सदनमा प्रस्तुत गर्नुस् । निर्णयार्थ प्रस्तुत गरेर संसदबाट पास भएपछि मात्रै अरु काम गर्नुहोला भनेका छौं । उहाँ सकारात्मक हुनुहुन्छ,’ देउवा निकट एक नेताले भने ।

पार्टीका नेताहरु र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग देउवाले यो विषयमा छलफल गरेका छन् । एमसीसी पास गर्न पेस गर्ने विषयमा देउवाको निर्देशनमा गृहमन्त्री बालकृष्ण खाणले सभामुख अग्निप्रसाद सापकोटालाई पनि भेटेका छन् ।

गृहमन्त्री खाणले एमसीसी प्रतिवेदन निर्णयार्थ प्रस्तुत गर्ने तयारीमा सरकार रहेकोलृ सहयोग गर्न सभामुख सापकोटालाई आग्रह गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

माओवादीमा प्रमुख सचेतक देवप्रसाद गुरुङ, पूर्वसभामुख कृष्णबहादुर महरा र वर्तमान सभामुख सापकोटा नै एमसीसीप्रति सकारात्मक छैनन् । देउवाले सभामुखको धारणा बुझ्न गृहमन्त्री खाणलाई पठाएको निकटस्थहरु बताउँछन् ।

देउवाले आफ्नो प्रतिष्ठाको विषय रहेको भन्दै माओवादी अध्यक्ष दाहालसँग पनि सरकारले एमसीसी निर्णयार्थ लैजाने बताएका छन् । देउवाले सहयोगका लागि दाहाललाई आग्रह गरेका र दाहालले आफू पनि सकारात्मक रहेका बताएका थिए ।

दाहालले आफ्नो पार्टीमा एमसीसीको विपक्षमा धेरै नेता र सांसद रहेकाले सबैको मत पक्षमा पर्नेमा आफू विश्वस्त नरहेको बताएका थिए ।

देउवाले दाहाललाई पहिला एमसीसी पारित गरेपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिएमा धेरै नेताहरु मन्त्री बन्ने नाममा चर्को विरोधमा र विपक्षमा उत्रिन नसक्ने भन्दै त्यसमा आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । मन्त्रिपरिषद् विस्तार गर्ने तर पूर्णता नदिने देउवाको प्रस्तावमा दाहाल सकारात्मक छन् ।

एमसीसी पास गर्नुभन्दा पहिला देउवाले तत्काल बढीमा ६ मन्त्री थप्ने तयारी गरेका छन् ।

जनता समाजवादी पार्टीबाट तीन, माओवादीबाट बढीमा दुई र कांग्रेसबाट एक जनालाई मात्र तत्काल मन्त्रिपरिषद्मा समावेश गर्ने आफ्नो तयारी गठबन्धन दलका शीर्ष नेतालाई देउवाले जानकारी गराइसकेका छन् ।

दलका शीर्ष नेताहरुले बोलेर समर्थन नजनाए पनि विरोध नगरेको एक बालुवाटार स्रोतले बतायो । देउवाले जसपा अध्यक्ष उपेन्द्र यादवलाई टेलिफोन गरेर पहिला तीन नेताको मात्रै नाम मन्त्रीमा सिफारिस गर्न भनिसकेको एक मन्त्रीले बताए ।

माओवादी अध्यक्ष दाहालले भने अरु सबै तयार गरेपछि दुई नेताको नाम माग्नुहोला, त्यतिबेलै दिउला भनेको निकटस्थ स्रोतले बतायो । कांग्रेसमा भने नेता रामचन्द्र पौडेल समूहबाट एक मन्त्री यो चरणमा बनाउने तयारी छ ।

अहिले ६ सदस्यीय मन्त्रीपरिषद् अब ६ सदस्य थप्दा १२ सदस्यीय हुन्छ । संविधानमै २५ सदस्यीय भन्दा ठूलो मन्त्रिपरिषद् बनाउन नपाउने व्यवस्था रहेकाले मन्त्रीमा पर्ने आसमा विरोधमा रहेका नेताहरु पनि मत पक्षमा हाल्न सक्ने सम्भावना रहने बुझाइ देउवाको छ ।

यतिमात्रै होइन एमसीसी सदनमा पेस गर्ने तयारी आफूले गरेको भन्दै पारित गर्न सहयोग गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि देउवाले आग्रह गरिसकेका छन् । एमाले अध्यक्ष ओली पनि एमसीसीको पक्षमा छन् ।

ओलीले सहयोग गर्न सक्ने नसक्ने केही नबताएर सल्लाह गरौंला मात्रै भनेको पनि देउवा निकट स्रोतले बतायो । एमालेमा सबैभन्दा बढी भीम रावलले एमसीसी पास गर्न नहुने पक्षमा छन् । उनले केही दिन अघिको प्रतिनिधि सभा बैठकमा पनि पारित गर्न नहुने धारणा राखेका थिए । अभियान टाइम्सका साथमा ।