विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकमा कुलमान नियुक्त, बुधबार पदभार ग्रहण गर्दै

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २७ साउन ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ ।

घिसिङलाई नियुक्त गरिएको पत्र मंगलबार आइपुगेको र आजै पत्र बुझेर पदबहाली गर्ने मन्त्रालयले जनाएको छ ।

घिसिङ कार्यकारी निर्देशकको चारवर्षे कार्यकाल पूरा गरी भदौ ३१ मा प्राधिकरणबाट बिदा भएका थिए । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सुविधासहित सरुवा गरिएको पनि मन्त्रालय स्रोतले जनाएको छ  ।

२०७३ भदौ २९ को मन्त्रिपरिषद् निर्णयबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त घिसिङलाई लोडसेडिङ अन्त्य गरेको र वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा लगेको श्रेय जान्छ ।

कुलमान घिसिङ निर्देशक रहेकाे बेला २०७५ वैशाखदेखि देश लोडसेडिङमुक्त भएको घोषणा गरिएको थियो । घिसिङ नियुक्त हुँदा प्राधिकरणको सञ्चिति घाटा करिब ३५ अर्ब रुपैयाँ थियो । घिसिङको कार्यकालको अन्तिम वर्षमा प्राधिकरणको मुनाफा करिब १२ अर्ब पुगेको थियो । र प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सरकारी संस्थान बनेको थियो ।

उनले २६ प्रतिशत विद्युत् चुहावटको अवस्थालाई घिसिङले चार वर्षमा १५ प्रतिशतमा झारेका थिए ।

नेपाल विद्युत प्राधिकरणमा कुलमानको कमब्याक भएको छ । निकै चर्चा र विवादबीच सरकारले उनलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

कुलमानको नियुक्तीका लागि सत्तारुढ गठबन्धनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निकै लबिंग गरेका थिए ।

उर्जामन्त्री पम्फा भुसालले मन्त्रीपरिषदमा कुलमानलाई नियुक्त गर्न प्रस्ताव लगेकी थिइन ।