केपी ओली राजनेता होइनन्, भ्रष्टाचारका नाइके मात्रै हुन्

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २६ साउन ।

राष्ट्रियसभामा नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनेता मान्नै नसकिने बताएका छन्। राष्ट्रियसभाको मंगलबार बसेको बैठकको विशेष समयमा बोल्दै रायमाझीले ओलीलाई भ्रष्टाचारका महान नायकको संज्ञा दिएका छन्।

‘केपी शर्मा ओली भ्रष्टाचारका महान नायक हुन्। कांग्रेसले ओली सरकारलाई दुई वर्षसम्म आँखा चिम्लेर समर्थन गरेको थियो’, उनले भने, ‘तर ओली सरकार पटक पटक भ्रष्टाचारमा डुब्यो। कोभिडका बेला झन् ठूलो भ्रष्टाचार भयो। केपी शर्मा ओली भ्रष्टाचारको महान् नायकलाई तह लगाउन पाँच दलीय गठबन्धन बनेको हो।’

उनले ओलीका पालमा अरबौँ भ्रष्टाचार भएको पनि टिप्पणी गरे। ‘अरबौँ भ्रष्टाचार गर्ने केपी ओली राजनेता होइनन् भ्रष्टाचारका नाइके मात्रै हुन्’, उनले थपे, ‘उनी माफियासँग मिले, अर्बौंको सरकारी सम्पत्ति व्यापारीलाई सुम्पिए। माफियाहरूसँग सरकारको संलग्नता हुन्छ?’

उनले कांग्रेस नेताहरु बिपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाहरूका कारण आज सदनमा सबैजना कुर्लिन पाउनु भन्दै कटाक्ष गरे।

‘हामीले ती नेताहरुले देखाएको बाटो कांग्रेसले बिरायो भनेर चिन्ता नलिनु’, उनले भने,’तपाईंहरुको बाटो हिजो के थियो? आज के छ आफैँ विचार गर्नु।’

उनले कोभिड महामारीमा अरबौँ भ्रष्टाचार भएको भन्दै कारबाही माग गरे। ‘कोभिड महामारीमा स्वास्थ्य सामग्री खरिदमा अरबौँ भ्रष्टाचार भएको छ। त्यसमा संलग्नलाई कारबाही होस्’, उनले भने, ‘गोकर्ण रिसोर्टमा अरबौँ रुपैयाँ भ्रष्टाचार भएको भन्दा मलाई सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाइयो। ओलीले यति होल्डिङलाई मुलुक जिम्मा लाउँथे तर उनले समय नपाएर मात्रै त्यो सम्भव नभएको हो।’

रायमाझीले कांग्रेस हिङ नै भएको तर्क गरे। ‘कांग्रेस हिङ बाँधेको टालो होइन हिङ नै हो’, उनले भने, ‘कांग्रेसको पालामा भ्रष्टाचारीलाई कारबाही हुन्छ, देश पनि अघि बढ्छ। अन्नपूर्ण टाइम्स बाट