प्रचण्डले भने-सरकारले बाढी पीडितको राहतका काममा तीव्रता दिन सकेन

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २४ साउन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष सरकारले बाढी पीडितको राहतका काममा तीव्रता दिन नसकेको बताएका छन् ।

आइतबार बिहान आफ्नै निवास खुमलटार पुगेका बाढी पीडितहरूसँगको भेटमा उनले सरकारले सिन्धुपाल्चोकलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि त्यसअनुसार कामलाई तीव्रता दिन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

बाढी पीडितसँगको कुराकानीमा उनले भने, ‘अहिले सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् संकटग्रस्त जिल्ला त घोषणा गर्‍यो । तर त्यो घोषणालाई फलोअप गर्ने खालका क्रियाकलाप तीव्रतासाथ अगाडि बढ्यो कि बढेन भन्दा अझै पनि ती गतिविधि त्यहीअनुसारको तीव्रताका साथ अगाडि बढेको छैन ।’

प्रचण्डले सो क्षेत्रका बाढीपीडितलाई राहत दिलाउन आफ्नो पार्टीले सरकारलाई घचघच्याउने र उत्प्रेरित गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आफ्नो पार्टीको तर्फबाट पनि सो क्षेत्रका बाढीपीडितलाई सकेको सहयोग गर्ने प्रतिवद्धता जनाए ।