माधव नेपाललाई उच्चस्तरीय राजनीतिक संयन्त्रको अध्यक्ष बन्न सत्तारुढ गठबन्धनको आग्रह

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २२ साउन ।

एमाले असन्तुष्ट समूहका नेता माधवकुमार नेपाललाई सत्तारुढ गठबन्धनले उच्चस्तरीय राजनीतिक संयन्त्रको अध्यक्ष बन्न प्रस्ताव गरेका छन् ।

गठबन्धन सरकार सञ्चालनका न्युनतम् कार्यक्रमको मस्यौदा तयार गर्न गठित कार्यदलले सन्चालनमा सघाउन उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन सुझाव दिँदै त्यसको प्रमुखमा नेता नेपाललाई प्रस्ताव गरिएको हो ।

नेता नेपाललाई प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतले उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व गर्न आग्रह गरेका छन् ।

असन्तुष्ट समूहको बिहीबारको केन्द्रीय कमिटीको बैठकमा समेत नेता नेपालले आफूलाई उक्त प्रस्ताव आएको बारे जानकारी गराएको केन्द्रीय सदस्य ठाकुर गैरेले बताएका छन् ।

साथै पार्टी एकताको प्रयास भइरहेकाले पार्टी विवाद वार कि पार नहुन्जेलसम्म सरकारमा सहभागी हुने र संयन्त्रको नेतृत्व गर्नेबारे निर्णय लिन नकिने नेता नेपालले सत्तारुढ गठबन्धनका शीर्ष नेतालाई बताएका छन् ।