विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न प्रचण्डकाे निर्देशन

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १९ साउन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न निर्देशन दिएका छन् ।

प्राधिकरणको कार्यकारी निर्देशक पदमा घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाले ऊर्जा,जलस्रोत तथा सिचाइँमन्त्री पम्फा भुसाललाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

हाल प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कुलमानलाई ल्याउन देउवासँग यसअघि नै प्रस्ताव गरेका थिए ।

मंगलबार ऊर्जामन्त्री भुसालले प्रधानमन्त्री देउवालाई भेटेर शाक्यको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै प्रधानमन्त्री देउवालाई ब्रिफिङ गरेकी थिइन् । त्यसपछि देउवाले शाक्यलाई राजीनामा गर्न लगाएर घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका थिए । शाक्यको काम सन्तोषजनक नभएको ठहर गर्दै देउवा सरकारले उनलाई हटाउने तयारी थालेको हो ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा चार वर्ष काम गरेर उनी २०७७ साल भदौमा सेवा निवृत्त भएका थिए । प्राधिकरणमा रहँदा उनले लोडसेडिङको अन्त्य, चुहावट नियन्त्रणमा सफल भएका थिए ।

झण्डै एक वर्षअघि कार्यकाल पूरा भएपछि तत्कालीन केपी ओली सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी बनाएको थियो । त्यतिबेलै उनको पुनर्नियुक्ति हुनुपर्ने आवाज उठेपनि ओली सरकारले नियुक्ति दिएको थिएन ।