सर्पको बिगबिगीका कारण स्थानीयहरु समस्यामा, घटना डरलाग्नेगरी बढे

हाम्रो सन्देश संवाददाता

महोत्तरी –

सघन वर्षापछि केही दिनयता चर्को घाम लाग्ने र छिनछिनमा पानी पर्ने क्रमसँगै महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा सर्पको बिगबिगी निकै बढेको छ । बर्खाकालमा पानीले दुला भरिएपछि बाहिर निस्केका सर्पको अहिले बिगबिगी बढेको हो । बर्दिवास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा अहिले सर्पदंशको उपचार लिन आउने दिनदिनै बढेका छन् ।

साउनको मध्यभित्रै सर्पदंशका ५३ घटना उपचारका लागि आएका सर्पदंश उपचार केन्द्र बर्दिवास–३ गौरीडाँडाले जनाएको छ । तीमध्ये विषालु सर्पले टोकेका १५ घटनाको उपचार गरिएको केन्द्रका उपचार प्राविधिक टोलीका नेता इन्द्रबहादुर केसीले बताउनुभयो । केन्द्रमा अहिले चार जना उपचाररत छन् । गत वर्ष पूरै साउनमा ४० सर्पदंशका घटना भएका थिए । यसै साउनको पहिलो सातामा गौरीडाँडामै एक १५ वर्षीय किशोरको सर्पदंशले मृत्यु भएको छ । केन्द्रमा अहिले दिनहुँ उपचारपछि घर फर्कने र उपचार लिन आउने बाक्लै छन् ।

असार मध्ययता र साउन पहिलो सातासम्म पटकपटकको मुसलधारे वर्षाले सर्प बस्ने दुला पानीले भरिएपछि यस भेगमा सर्पको बिगबिगी बढेको हो । सर्पदंशका बिरामी उपचार गर्न आएमध्ये अत्यन्त विषालु गोमन र करेतले डसेका १५ जनाको सफल उपचार भएको केन्द्रका अध्यक्ष कृष्ण देवकोटा बताउनुहुन्छ । अन्य भने भाइबर (विष नलाग्ने सर्पको एक प्रजाति), बिच्छी र खजुराले टोकेको पुष्टि भएको उहाँको भनाइ छ । सर्पदंशका घटनामा ६० प्रतिशत महिला पर्ने गरेका छन् । घाँसपातको काम गर्दा र घरघरै शौचालय नहुँदा अँध्यारोमा दिसापिसाब गर्न बाहिर निस्कँदा मधेशमा सर्पदंशका घटनामा महिला बढी पर्ने गरेको देवकोटा बताउनुहुन्छ ।