माओवादीले आधा करोड भन्दा बढी पैसा दिएर एमाले सांसद किनेको खुलासा

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १७ साउन ।

लुम्बिनी प्रदेशसभाकी सांसद विमला खत्री सम्पर्कमा आएकी छन् ।

तीन दिनदेखि सम्पर्कविहीन भनिएकी दाङ ‘ख’ उपनिर्वाचनबाट निर्वाचित विमला उपचार गराइरहेको अवस्थामा भेटिएकी हुन् । नेपालगन्जबाट उपचार गरेर उनी बुटवल फर्किसकेकी छन् ।

तत्कालीन नेकपाबाट उपनिर्वाचनमा निर्वाचित विमलाले एकता भंग हुँदा माओवादी केन्द्र रोजेकी थिइन् । उनी पार्टी एकीकरण अगाडि एमाले भए पनि माओवादी रोजेपछि विभिन्न आशंकाहरु भएका थिए । जुन अहिले सत्य सावित भएको छ ।

माओवादी केन्द्रले शंकर पोखरेलको सरकार ढाल्न उनलाई आर्थिक प्रलोभन र मन्त्री बनाउने आश्वासन दिएर लगेको खुलासा भएको हो । त्यतिबेला पोखरेललाई हटाउन माओवादीले सकेन । बहुमत पुगेन । अहिले फेरि हटाउने प्रयास गरेको छ । यस्तो बेला माओवादीमा रहेकी विमला एमालेतिर फर्किएकी छन् ।

स्रोतका अनुसार माओवादीको आधा करोड भन्दा बढी अर्थात ५५ लाख रुपैयाँ फिर्ता गर्ने शर्तमा उनी पुरानै पार्टी एमालेमा फर्किएकी हुन् । उनी मुख्यमन्त्री पोखरेलको सम्पर्कमा छिन् ।

विमलालाई माओवादी लुम्बिनी प्रदेश इन्चार्ज एवं पूर्वसभामुख ओनसरी घर्ती र प्रदेश सांसद सुदर्शन बरालले पैसा दिएको स्रोतको दाबी छ । पैसा पाएपछि अन्तिम समयमा उनी माओवादी केन्द्र रोजेकी थिइन् ।

माओवादी सांसद इन्द्रजित थारुले अलिअलि प्रलोभन हुनसक्ने तर आधा करोड पैसा नै बुझाएको भन्नेमा आफूलाई विश्वास नभएको बताए । प्रदेश इन्चार्ज घर्तीले यो नितान्त सांसदहरूको कुरा भएका कारण आफू संलग्न नभएको दाबी गरिन् ।

थारुले विमला आफूहरुको सम्पर्कमा नभएको जानकारी दिए । तर एमाले स्रोतका अनुसार प्रदेश सांसद मानबहादुर रावतको सम्पर्कमा विमला छिन् ।

विमलालाई एमालेममा ल्याउने वातावरण रावतले नै बनाएका हुन् ।