जनताको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउनेलाई एमालेमा ठाउँ छैन : अध्यक्ष ओली

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १६ साउन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै माधव नेपालका लागि पार्टीमा कुनै ठाउँ नभएको बताउनुभएको छ ।

आज नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै पार्टी, मतदाता र देशलाई धोका दिएको बताउनुभयो । आफ्नै पार्टीको सरकार ढाल्ने माधव नेपालको कदम कम्युनिष्ट आन्दोलन विरुद्व भएको भन्दै उहाँले भन्नुभयो, ‘कम्युनिष्ट आन्दोलन विरोधी देशद्रोहीलाई पार्टीमा कुनै ठाउँ छैन । उहाँले थप्नुभयो, ‘फ्लोर क्रस गरेर देउवा नेतृत्वको सरकार बनाउन एक हुल लिएर हिँडे । पार्टी हामी सबैले बनाएका हौँ।’

उहाँले भन्नुभयो, ‘वामपन्थी सरकार ढाल्ने दक्षिणपन्थी सरकार बनाउने, विश्वासको मत दिने,’ उहाँले भन्नुभयो, ‘आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिने, दक्षिण पन्थीको सरकारलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने, त्यस्ताका लागि ठाउँ छैन ।’

अध्यक्ष ओलीले बाटो बिराएका अरू भने पार्टीमा फर्किन सक्ने बताउनुभयो । ‘आउनुस् यो पार्टी हामी सबै जनाको हो । जो आउँदैन, आउँदैन । समय कुर्दैन,’ उहाँले भन्नुभयो ।

पार्टीभित्रबाटै प्रतिक्रियावादीहरुसँग मिलेर जनताको सरकार ढालेको ओलीले बताउनुभयो । ‘नेकपा एमालेको सरकार ढाले, लगभग दुई तिहाइको पार्टी फुटाए, एमालेको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएर लोकतन्त्र र संविधानको रक्षा गरेको भनेर भ्रम फैलाए’अध्यक्ष ओलीको भनाइ थियो।

पार्टी एकताको र राष्ट्रियताको पक्षमा लाग्न उहाँले पार्टीका कार्यकर्तालाई निर्देशन दिनुभयो । पार्टी एकता असफल नभएको भन्दै उहाँले प्रचण्ड, माधवलगायत केही मान्छेहरुले पार्टी छाडेका बताउनुभयो ।

देउवा नेतृत्वको सरकारलाई दक्षिणपन्थी भएकाले सुशासन र जनताको पक्षमा काम गर्न नसक्ने ओलीले बताउनुभयो । आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर देखाउने बताउनुभयो । चक्रपथ बाट साभार