माधव नेपाल जस्ता देशद्रोहीको लागि एमालेमा ठाँउ छैन : ओली

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १६ साउन ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले वरिष्ठ नेता माधव नेपाललाई देशद्रोहीको संज्ञा दिएका छन।

शनिबार एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले अब नेपाललाई पार्टीमा ठाँउ नदिइने समेत स्पष्ट पारे।

माधव नेपालकै कारण आफू नेतृत्वको सरकार ढलेको ओलीको आरोप छ। पार्टीको सरकारविरुद्ध कुठाराघात भएको र अभियानमा गम्भीर रूपमा ब्रेक लागेको ओलीको भनाइ थियो ।

पार्टीमा खुट्टा तान्नेहरूलाई बाहिर पठाइने ओलीको भनाइ थियो। ओलीले भने ‘माधव नेपाल जस्ता आन्दोलन विरोधी देशद्रोहीलाई कुनै ठाउँ छैन, वामपन्थी सरकार ढाल्ने, आफ्नो अध्यक्षले माग्दा पनि विश्वासको मत नदिने, दक्षिणपन्थी सरकारलाई मेरो विश्वास छ भनेर ह्वीप क्रस गर्ने।

माधव नेपाल पक्षबाट दैनिक जसो विभिन्न प्रस्ताव आउने गरेको उल्लेख गर्दै महासचिव पोखरेलले ती प्रस्तावबारे आफूले बुझ्न नसकेको पनि बताए।

ओली पक्षले नेपाल समूहलाई अब धेरै नकुर्ने मनस्थिति बनाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि एमालेलाई एकताबद्ध पार्नका लागि सहमति कायम गर्ने प्रयत्न धेरै गरिसकेको भन्दै अब सहमतिकै लागि भनेर लामो समय नकुर्ने बताएका थिए।

शुक्रबार आफूनिकट नेताहरुसँग उनले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई धेरै पर्खिन नसक्ने स्पष्ट पारेका हुन्। त्यसकै लागि ओलीले आफ्नो समूहमा आजसम्मको ‘डेडलाइन’ तोकेका छन् र त्यो समयसम्म सहमति नजुटे एमालेको स्थायी कमिटी बैठक राखेर अघि बढ्ने बताएका थिए। सोही अनुसार आजको बैठक बोलाइएको छ।