‘एक्जिट मेमो’ नपाउँदा मलेसियामा हजारौं नेपाली कामदारहरु समस्यामा

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १६ साउन ।

मलेसियाली अधिकारीहरूले विदेशीलाई स्वदेश फर्किन अनिवार्य गरेकोे ‘एक्जिट मेमो’ नपाउँदा घर फर्किनु पर्ने हजारौं नेपाली कामदारहरु समस्यामा परेका छन् । लामो समयदेखि नेपाली कामदारलाई समस्यामा पारेको यो विषयलाई त्यहाँको फ्रि मलेसिया टुडे अनलाइनले ठूलो समाचारकारूपमा बाहिर ल्याएको छ ।
मलेसियामा करार अवधि सकिएका कामदारलाई कम्पनीका तर्फबाट निवेदन गरी एक्जिट मेमो निकाल्ने गरिएको छ । मलेसियामा कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रणमा ल्याउन कडाइका साथ आवागमन नियन्त्रण आदेश कार्यान्वयनमा छ । आवागमन अवरोधको कारणले अध्यागमन कार्यालय बन्द रहेकाले यो समस्या सिर्जना भएको कम्पनीहरूले बताउने गरेका छन् ।

कोरोनाकै कारणले मलेसियामा विदेशी कामदार जान पाएका छैनन् । कतिपय कम्पनीले अध्यागमनमा निवेदन नै नदिई अध्यागमनले एक्जिट पर्मिट नदिएको बताएर नेपाली कामदारहरूलाई काम गर्न बाध्य पारिरहेको गुनासो बढेको छ ।

क्वलालम्पुरस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रतीक कार्कीले घर फर्कन नपाउँदा सयौं नेपाली बेतलबी बस्नुपरेको र कतिपयले गैरसरकारी संस्था र साथीभाइहरुको सहयोग लिनुपर्ने बाध्यता रहेको उक्त अनलाइनलाई बताएका छन् ।

दूतावासले अध्यागमन अधिकारीसँग कम्तीमा एउटा काउन्टर खुला राखेर एक्जिट मेमो प्राप्त गर्न सक्ने वातावरण बनाउन अनुरोध गरिरहेको तर प्रगति नभएको बताएका छन् ।