क्रियाशील सदस्यता विवादबारे कांग्रेसमा जुट्यो सहमति, के के भयो त ?

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १६ साउन ।

नेपाली कांग्रेसका शिर्ष नेताहरुबीच क्रियाशील सदस्यताको विवाद मिलाउन नयाँ मापदण्ड बनाउने सहमति भएको छ । शुक्रबार काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा करिब ४ घण्टा चलेको शीर्ष नेताबीचको छलफलमा यस्तो सहमति बनेको हो ।

शीर्ष नेताहरुबीच विवादित विषयमा नयाँ मापदण्ड बनाएर टुंगो लगाउने विषयमा सहमति जुटेको हो । छलफलमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौभित्रै महाधिवेशन सक्ने गरी विवाद टुंग्याउन नयाँ मापदण्ड बनाउने सहमति भएको जानकारी दिए ।समायोजन सम्बन्धी विवादले रोकिएको क्रियाशील सदस्यतालाई पनि विधिसम्मत तवरले टुङ्ग्याइने पौडेलले बताए ।

सहमहामन्त्री प्रकाशशरण महतका अनुसार बारा, सप्तरी, धनुषा–४, सर्लाही–२ सहित १ सयभन्दा बढी वडा र अन्य दलबाट पार्टी प्रवेश गरेका नेता कार्यकर्तालाई सदस्य दिँदा देखिएको विवाद समाधानका लागि नयाँ मापदण्ड बनाउने सहमति भएको बताए । ‘क्रियाशील सदस्यता छानविन समितिमा निरुपण हुन नकसेको विवादमाथि छलफल गरेर विधिसम्म तरिकाले टुंग्याउनु पर्छ कुरा भएको छ ।’ महतले भने, ‘त्यसका लागि छानविन समिति प्रवेश नै नगरी नेतृत्व तहमा बुझाएको सप्तरी र बाराबाट आएको क्रियाशील सदस्यताका सन्दर्भमा नयाँ मापदण्ड बनाइने छ ।’

​यस्तै धनुषा ४ नम्बर क्षेत्र र सर्लाही २ नम्बर क्षेत्रका सन्दर्भमा जारी अनशन र धर्नालाई सम्बोधन गरिने महतले बताए ।

दुई घण्टा छलफलमा बसेर बाहिरिएका सभापति देउवाले काँग्रेस र काँग्रेस हुन चाहनेलाई क्रियाशील सदस्यबाट बन्चित हुनुनपर्ने गरी समाधान खोज्नुपर्ने बताएका थिए । देउवाले छलफलमा सहभागी नेताहरुलाई सोही अनुसार निकास खोज्न भनेका थिए ।