मध्यराती ट्राफिक प्रहरी र पूर्वयुवराज पारस शाहबीच घम्सघम्शी ! माथिको आदेश भन्दै प्रहरीले पक्राउ गरेन (भिडियो)

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १५ साउन ।

पूर्वयुवराजधिराज पारश शाहलाई हेल्मेट नलगाई नशालु हालतमा असुरक्षित तवरले मोटरसाइकल कुदाएपछि आज साँझ प्रहरीले समातेको छ । काठमाडौं महाराजगञ्जको चक्रपथ चोकमा हेल्मेटबिना हार्ले ड्याभिड्सनको मोटरसाइकल कुदाएका उनी सद्दे हालतमा समेत देखिएका छैनन् ।

प्रहरीका अनुसार उनले ड्रग्स नखाए पनि सद्दे अवस्थामा नरहेको र राम्रोसँग उभिन र बोल्न समेत नसकेको भिडियोमा देखिन्छ । प्रहरीको फन्दामा परेपछि प्रहरीले हात समातेर घर जान अनुरोध गर्दा उल्टै जाइलागेर जान्नँ भन्दै नाकतिर औंला तेर्स्याएर अड्डी कसेका थिए ।

आफूले कहिल्यै हेल्मेट नलगाउने जिद्दी गरेका पारस आज पनि लामै कपालमा प्रहरीसँग दोहोरो सवाल जवाफमा उत्रेका हुन् । उनले भनेका छन्, ‘म कहिल्यै हेल्मेट लगाउँदिन ।’

पछि जम्मा भएका केही मोटरसाइकलवालाले पारसलाई ‘सरकार’ भन्दै बाइक चढाएर बिना हेल्मेट निर्मल निवास पठाएको छ ।