थप ३ जलविद्युत कम्पनीलाई आइपीओ बिक्री गर्ने अनुमति

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १५ साउन ।

नेपाल धितोपत्र बोर्डले ३ वटा जलविद्युत कम्पनीलाई आइपीओ बिक्री गर्ने अनुमति दिएको छ । बोर्डले न्यादी हाइड्रोपावर, साहस उर्जा र बुद्धभूमि नेपाल हाइड्रोपावरलाई आइपीओ जारी गर्न अनुमति दिएको हो । न्यादी पावरले सर्वसाधारण र स्थानीयलाई गरी कुल ४० लाख ५० हजार कित्ता आइपीओ जारी गर्न लागेको छ । कम्पनीले जारी पुँजीको २७% आइपीओ बिक्री गर्न अनुमति पाएको हो । यसमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

यता, साहस उर्जाले पनि सर्वसाधारण र आयोजना प्रभावित स्थानीयलाई गरी १ करोड ५ लाख कित्ता आइपीओ जारी गर्न लागेको छ । साहसले जारी पुँजीको ३०% आइपीओ बिक्री गर्न लागेको हो । यो आइपीओमा एनआइबीएल एस क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । साहसले हाल सोलुखुम्बु जिल्लामा ८६ मेगावट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

यसैगरी, बुद्धभूमि नेपाल हाइड्रोपावरले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको छ । उक्त आइपीओ सर्वसाधारण र स्थानीयलाई बिक्री हुनेछ । यसमा सिभिल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्ने भएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले बुद्धभूमिको आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४ प्लस’ रेटिङ दिएको छ । यसले ४.९९३ मेगावटको लोवर टाडी खोला हाइड्रोपावर आयोजना नुवाकोट जिल्लामा निर्माण गरिरहेको छ ।