काठमाडौं, १३ साउन ।
नेपालमा एमसीसीको चर्चा चलिरहेकै बेला सत्तारुढ दल नेपाल काँग्रेसका उपसभापति विमलेन्द्र निधि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । निधिको निजी सचिवालयले उनी भारतको गएको पुष्टि गरेको छ ।
‘वहाँ पारिवारिक कामले भारत जानु भएको हो । आज बिहान काठमाडौँबाट नयाँ दिल्ली जाने कार्यक्रम तय थियो । तर, विमानमा सिट नपाएका कारण वहाँ काठमाडौँबाट बिराटनगर अनि त्यहाँबाट सिलिगुडी हुँदै नयाँ दिल्ली जानुभएको हो । वहाँको ससुराली त्यहीँ हो । वहाँको जेठानले बोलाउनुभएकोले जानुभएको हो । वहाँ भोलिसम्म बसेर पर्सी फर्किने कार्यक्रम रहेको छ,’ निधिका स्वकीय सचिव विश्वास बिक्रमले भने ।
तर, अमेरिकी विदेशमन्त्री एन्टोनी बिंल्केन भारत आएको मौकामा निधि दिल्ली पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । बुधबार मात्र अमेरिकी विदेशमन्त्री र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मंगलबार बेलुकी टेलिफोन वार्ता भएको थियो । दुई नेताबीच एमसीसीको बारेमा पनि चर्चा भएको बताइएको छ । नेपाली काँग्रेसकै पालामा एमसीसी परियोजनामा सम्झौता भएको थियो । सो सम्झौता पारित हुनुपर्नेमा देउवाले जोड दिँदै आएका छन् ।
यद्यपि, सत्तारुढ गठबन्धनमा यो विषयमा मतभेद रहँदै आएको छ । आजै मात्र प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताको बैठकमा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी अघि बढाए गठबन्धनबाट बाहिरिने चेतावनी दिएका थिए ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सेक्रेटरी अफ स्टेट एन्टोनी ब्लीन्केनबीच टेलिफोन वार्ता भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार दुई नेताबीच नेपाल र अमेरिकाबीचको समान चासोका विषय, कोभिड–१९ विरुद्धको लडाइँमा सहकार्य तथा जलवायु परिवर्तनका विषयमा छलफल भएको थियो ।
ब्लीन्केनले पनि सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री देउवासँग कुराकानी गर्नु पाउँदा खुसी व्यक्त गरेका छन् ।