सत्ता गठबन्धनको बैठकः एमसीसी पास गर्न खोजे गठबन्धन छाड्ने चेतावनी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १३ साउन ।

सत्ता गठबन्धनको बैठक सकिएको छ । बैठकले मन्त्रिपरिषदलाई तत्कालै पूर्णता दिने सहमति गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तापक्षका शीर्ष नेताहरुको बैठकले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय भएको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

यस्तै बैठकमा गठबन्धनको तर्फबाट सरकारको साझा नीति तथा कार्यक्रम ल्याउनेबारे पनि छलफल भएको छ भने त्यसबारे गृहकार्य गरेर मूर्तरूप दिइने खड्काले जानकारी दिए । बैठकले शीर्ष नेताहरूले मन्त्रीको नाम दिएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको बैठकमा सहभागी एक नेताले जनाए ।

सत्तारुढ गठबन्धनको बैठकमा अन्य पाँच प्रदेशका प्रदेश प्रमुख पनि हटाउने सहमति भएको छ । तर, कसलाई नियुक्त गरिने भन्ने बारेमा राजनीतिक नियुक्तिको साझा मापदण्ड बनाउनेबारे छलफल भएको जसपा नेता अशोक राईले बताए । यसलाई अन्तिम रुप दिन आजै शीर्ष नेताहरुको बैठक बस्ने खड्काको भनाइ छ ।

बैठकमा काँग्रेसबाट प्रधानमन्त्री तथा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला सहभागी थिए । यस्तै माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई, एमालेको माधव नेपाल समूहबाट विजय पौडेल, जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसीलगायत सहभागी थिए ।

गठबन्धन छाड्ने चेतावनी- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसीको विरोध गरेका छन् । गठबन्धनको बैठकमा उनले एमसीसीको विरोध गरेका हुन् । यस्तै संघीयताको विषयमा पनि उनको विरोध रहेको थियो । बैठकमा केसीले नेपाली जनता कोभिडविरुद्धको खोप नपाएर अकालमा ज्यान गुमाउन बाध्य भइरहेको अवस्थामा गठबन्धनको सरकार गम्भीर बन्न नसकेको बरु एमसीसीलाई अघि बढाउने ध्याउन्नमा लागेको भन्दै विरोध गरेको एक नेताले बताए ।

‘जनता कोरोनाविरुद्धको खोप नपाएर मरिरहेका छन् । तपाईहरु एमसीसी कसरी पास गर्ने र संघीयता धरापमा पर्योमात्रै भन्नुहुन्छ । अनि कसरी जनताले यो गठबन्धनको सरकारलाई विश्वास गर्ने ?’केसीको प्रश्न थियो ।

उनले गठबन्धनले सधैं संघीयताकै रटान लगाउने र एमसीसीकै कुरा गर्ने हो भने आफ्नो पार्टी गठबन्धनबाट बाहिरिने चेतावनी दिएका थिए । ‘गठबन्धन खाली संघीयता र एमसीसीको पछि लाग्ने हो भने हामी प्रतिपक्षमा बस्छौँ’, केसीको भनाइ थियो । मंगलबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता भएको थियो । सो वार्तामा एमसीसीको विषयमा छलफल भएको बुझिएको छ ।