विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामाको तयारीमा शंकर पोखरेल

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १३ साउन ।

जसपाले आफ्नो सरकारमा सहभागी ३ मन्त्रीलाई सांसद् पदबाटै हटाएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसँग आफ्नो पद जोगाउने विकल्प बन्द भएको छ । मुख्यमन्त्री पद जोगाउन अनेक प्रयत्न गरेका पोखरेलले विश्वासको मत पाउने सम्भावना नभएपछि राजीनामा दिने तयारीमा जुटेका छन् ।

यसअघि गठबन्धनबाट माओवादी केन्द्रका नेता कुलप्रसाद केसी बहुमतमा हुँदाहुँदै पोखरेलले ‘जबर्जस्ती’ मुख्यमन्त्रीको सपथ लिएका थिए। प्रदेश प्रमुख धर्मनाथ यादव आफ्नो पक्षका भएकाले अल्पमत हुँदाहुँदै पोखरेलले गत बैशाख १९ गते राजीनामा दिएर पुनः सपथ लिएका थिए।

लुम्बिनी प्रदेश सभामा पोखरेल पक्षका ४१ जनामध्ये २ जनाले राजीनामा दिइसकेका छन् भने विमला ओली उपनिर्वाचनबाट निर्वाचित भएकाले माओवादीलाई समर्थन गरेकी छन्। हाल मुख्यमन्त्रीको पक्षमा ३८ जना मात्रै छन्। त्यसमध्ये विष्णु पन्थी र रमा घर्ती वरिष्ठ नेता माधवकुमार नेपाल पक्षतिर खुलेर लागिसकेका छन्।

नेपाल पक्षमा भए पनि अरु नेता खुलेर बाहिर नदेखिएकाले पोखरेलकै पक्षमा जोडिएको छ। यसो हुँदा पोखरेलको पक्षमा ३६ जना सांसद मात्रै छन्। पोखरेलले जनता समाजवादी पार्टीबाट ३ जना सांसदलाई मन्त्री बनाएर आफ्नो पक्षमा पारेका थिए। त्यसपछि आफ्नो बहुमत पुग्ने आकलन गरेर विश्वासको मत लिने सार्वजनिक रुपमा बताउँदै आएका थिए।

जसपा उपेन्द्र यादवले आधिकारिकता पाएलगत्तै विजय यादव,कल्पना पाण्डे र सन्तोषकुमार पाण्डेलाई मंगलबार कारबाही गरेपछि पोखरेल संकटमा परेका हुन्। संसदमा स्पष्ट अल्पमत परेपछि पोखरेलले राजीनामाको तयारी गरेका छन् भने माओवादीले केसीलाई नै मुख्यमन्त्रीको रुपमा अगाडि सार्ने भएको छ ।