आज राति १२ बजदेखि लागु हुने गरी काठमाडौंमा १० दिन निषेधाज्ञा थप [आदेशपत्रसहित]

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १२ साउन ।

बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ । आज बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप गर्ने निर्णय गरेको हो । निषेधाज्ञाका प्रावधानमा भने कुनै परिवर्तन नगरिएको समेत उहाँले जानकारी दिनुभयो ।

पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि आज राति १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो । उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले सोमबारदेखि १० दिनसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार निषेधाज्ञामा पूर्ववत आदेशहरू जारी गरिएको हो । लम्ब्याइएको १० दिने निषेधाज्ञामा पनि कुनै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लबलगायत मानिसको भिडभाड हुने कार्यक्रमह गर्न रोक लगाइएको छ ।

अर्कोतिर खुला स्थानमा मानिस भेला हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज गर्न नपाइने भएको छ । औषधि तथा स्वास्थ्य सामाग्रीका पसलबाहेक अरू पसल र व्यवसाय साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाउनेछन् । रेष्टुरेन्ट तथा फास्ट फुड, अनलाइन अर्डर र टेक अवेका सेवा पनि साँझ ७ बजेसम्म मात्रै चलाउन पाइने छ ।