काठमाडौं, ११ साउन ।
वर्दिया–१ बाट प्रतिनिधिसभाको यो निर्वाचनमा लज्जास्पद हार व्यहोरेका नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू प्रधानमन्त्री बन्न पाउनुपर्छ भन्दै पटकपटक संविधान संशोधनको माग गरिरहेका छन् । उनी नेपाली कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भए ।
नेकपा गठवन्धनको तर्फबाट निर्वाचनमा भाग लिएका शीर्ष नेताले नै निर्वाचनमा पराजित हुनुपर्दा पनि गौतमले यसलाई आफ्नो कमजोरीको रुपमा लिएका छैनन् ।
राजनीतिमा ठूलो कुरा गर्ने र जनताको पक्षमा काम नगर्ने उनले निर्वाचन हार्छन् भन्ने स्थानीयले पहिलेदेखि नै अनुमान लगाउँदै आएका थिए । उनी जनताको पहुँचभन्दा निकै टाढा भएकाले पनि जनताले पत्याउन सकेनन् ।
गौतमले आफ्नै पार्टीका नेताले गुटवन्दी गरेर हराएको भन्दै आफ्नो लाज ढाक्ने प्रयास अझै पनि गरिरहेका छन् । गौतमले पार्टीभित्रको अन्तरघातीलाई कारबाही गर्नसमेत सिफारिस गरेका छन् ।
तर सिफारिस गर्न बनाएको समितिले पनि क–कसले अन्तरघात गरे भनेर टुंगो लगाउन सकेन । गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै आफूलाई हराएको भन्नसमेत भ्याए ।
उनी पटकपटक संसदको बैठकमा र पार्टीको बैठकमा समेत संविधान संशोधन गरेर राष्ट्रियसभाको सांसद पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने माग राख्दै आएका छन् ।
संविधान अनुसार राष्ट्रियसभाको सांसद प्रधानमन्त्री बन्न सक्ने व्यवस्था छैन । संविधान जारी गर्ने बेलामा गौतम पनि संविधानसभा सदस्य रहेका थिए । त्यतिबेला उनले संविधानप्रति कुनै असहमति जनाएनन् ।
गौतमले प्रधानमन्त्री बन्न नपाउने भए राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार नबन्ने अडान लिएका थिए । २०७७ सालको सुरुदेखि नै पार्टीमा विवाद भएपछि अन्यौलतको मौका छोपी आफू प्रधानमन्त्री हुने दाउमा थिए उनी ।
२०७६ को फाल्गुणमा भएको राष्ट्रियसभाको निर्वाचनमा उनी लुम्विनी प्रदेशबाट निर्वाचित भएका हुन् । गौतमकी श्रीमती कुमारी तुलसी थापा प्रतिनिधिसभाकी समानुपातिक सांसद छिन् । एउटा व्यक्तिको लागि संविधान संशोधन गर्न नसकिने भन्दै नेकपा र अन्य दलले पनि यसमा असन्तुष्टि जनाएका थिए ।
गौतम निर्वाचन क्षेत्र परिवर्तन गरिरहने नेतामध्ये एक हुन् । उनले २०७० सालमा बर्दिया–१ र प्युठान–१ बाट निर्वाचन जिते । दुई ठाउँबाट जितेपछि एउटा क्षेत्र छोड्नुपर्ने भएकाले उनले बर्दिया छोडेर प्युठान रोजे, उनले छोडेको क्षेत्रमा पनि एमालेका श्याम ढकालले नै उपनिर्वाचन जिते । पछि २०७० मा बर्दिया नै फर्किए तर निर्वाचन हारे ।
गौतम २०७० सालमा पनि बर्दिया –२ बाट निर्वाचित भएका थिए । पछि क्षेत्र समायोजन हुँदा दुवै गौतम एकै क्षेत्रबाट उठे । नेकपासँग राष्ट्रिय जनमोर्चाको गठबन्धन भएकाले प्युठानलाई राष्ट्रिय जनमोर्चाले रोजेको थियो ।
प्रतिनिधिसभामा एकमात्र क्षेत्र रोजेको यो क्षेत्रबाट पार्टी उपाध्यक्षसमेत रहेकी दुर्गा पौडेलले निर्वाचन जितिन् ।
गौतमले नेकपामा विवाद भएपछि एकताका लागि सक्रिय रहने भन्दै एकता अभियान चलाएका थिए तर उनको अभियान प्रभावकारी बन्न सकेन । कहिले ओलीको विरोधमा कठोर भएर बोल्ने त कहिले ओलीको पक्षमा समर्थन गर्ने गरेकाले पनि उनी विचार र सिद्धान्तमा अडिग रहने नेताको रुपमा चिनिन पाएनन् ।
गौतम अहिले यता न उता भएका छन् । उनी केही दिनअघिको एमालेका अध्यक्ष ओलीले बोलाएको केन्द्रीय समितिको बैठकमा सहभागी भएर अबदेखि ओलीसँगै रहने जनाएका थिए तर ओलीले पनि गौतमप्रति पूरै विश्वास गर्न सकेनन् ।