कुन संस्कार हो यो ? प्रधानमन्त्री उठेर शपथ दिलाउने मन्त्रीहरू बसेर हेर्ने ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ११ साउन ।

आइतबार मन्त्रिपरिषद् विस्तारका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गर्नुभयो ।

हिजै प्रधानमन्त्री देउवाले नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई सिंहदरबारमा शपथ गराउनुभयाे ।

तर शपथ ग्रहण कार्यक्रममा अनौठो दृश्य देखियो । प्रधानमन्त्रीले राजयमन्त्री श्रेष्ठलाई शपथ ग्रहण गराउँदै गर्दा मन्त्रिपरिषद्का अन्य मन्त्रीहरुले भने उठ्न समेत जरुरी ठानेनन् ।

उनीहरुले शपथ ग्रहण कार्यक्रममा सामान्य नैतिकता र शिष्टाचारसमेत देखाउन जरुरी ठानेनन् । यो फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

यसलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले मन्त्रीहरुलाई संस्कारहीनता र आचरण स्खलनको चरम रूप भनेर टिप्पणी गरिरहेका छन् ।

जसरी प्रधानमन्त्रीले जनताको अपेक्षालाई लत्याएर व्यवसायीलाई मन्त्री बनाउनुभयो, उहाँका मन्त्रीले नै शपथका बेला उभिने सामान्य शिष्टाचारसमेत निभाएनन् ।