उपत्यकामा निषेधाज्ञा १० दिन थपियाे, भिडभाड हुने कार्यक्रममा प्रतिबन्ध

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ११ साउन ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो ।

निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

साउन १ गतेबाट जारी निषेधाज्ञा आइतबार सकिँदैछ। भोलिदेखि जारी हुने थप १० दिनको निषेधाज्ञामा कुनै पनि प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब लगायत मानिसहरू भिडभाड हुने कार्यक्रमहरू सञ्चालन गराउन पाइने छैन।

खुला स्थानमा मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज गर्न नपाइने प्रशासनले जनाएको छ। शैक्षिक संस्थाहरू पनि अहिले भौतिक उपस्थितिमा पठनपाठन गर्न अनुमति दिइएको छैन। स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन।