माधव नेपाल सहभागी संसदिय समितिको बैठकमा हंगामा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १० साउन ।

आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको संसद पुनःस्थापनापछिको पहिलो बैठकमा नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपाल पनि सहभागी भए । नेता नेपालले संसद पुनःस्थापनाका कारण सबैको भेट भएकोमा खुसी ब्यक्त गरे । त्यस पछि जब एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद नारदमुनि राना बोले बैठकमा हंगामा भयो ।

उनले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भएको अभिब्यक्ति दिएपछि बैठकमा सहभागी सबै उनिमाथि खनिए । आफ्नो बोल्ने पालो आएपछि रानाले अहिलेको संसद र सरकार परमादेशले बनाएको भनेपछि काँग्रेस, माओवादी र माधव नेपाल पक्षका सांसद आक्रोशित बनेका छन् । स्वयं नेता नेपालले पनि औँला उठाउँदै उनको अभिब्यक्तिको विरोध गरे ।

रानालाई प्रतिगमनको पक्ष लिने तपाईं बैठकबाट बाहिर जानुस् भन्दै जंगिए । काँग्रेस सांसद विपिन राजभण्डारीले संसद र सरकार जनमतले बनाएको भन्दै अमर्यादित कुरा नबोल्न चेतावनी दिए । उनले मन्त्रिपरिषदमा गएर आएको सांसद समितिमा बस्न नपाउने नियम रहेको सुनाए ।

सांसदहरूले रानालाई बैठकबाट निकाल्न सभापति पवित्रा निरौलालाई आग्रह गरेको भएपनि त्यसो भने गरिएन । सभापति निरौलाले समिति कुनै राजनीतिक पार्टीको बैठकस्थल नभएकोले अभिब्यक्तिका कारण बाहिर निकाल्न नमिल्ने भनिन् ।