बैदेशिक रोजगारमा जाने युवाहरु खोप केन्द्र धाउदा पनि खोप नपाएको गुनासो

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १० साउन ।

अमेरिकाबाट आएको एक पटक लगाए मात्रै पुग्ने १५ लाख जोनसोन एन्ड जोनसोनको खोप पछिल्लो चरणमा बैदेशिक रोजगारमा जाने युवाहरुलाई दिने सरकारले भने पछि युवाहरूमा एक प्रकारको खुसी छाएको थियो ।

तर हालका दिनमा बैदेशिक रोजगारमा जाने युवाहरूले जोनसोनको खोप नपाएको गुनासो आउन थालेको छ । बैदेशिक रोजगारमा जाने युवाहरुले जोनसोनको खोप नपाउदा समस्यामा परेका छन् ।

सरकारले तोकेको खोप केन्द्रहरुमा धाउदा धाउदा पनि खोप नपाएको गुनासो आउन थालेको छ । काठमाडौंमा खोप सकिएको हो कि भन्दै छिमेकी जिल्लाहरुमा समेत पुग्न थालेका छन् । तर पनि खोप नपाउदा भने समस्यामा परेका छन् ।

सरकारले कोरोनाविरुद्धको खोप अभियान नियमित रूपमा सञ्चालन गर्न नसक्दा वैदेशिक रोजगारीमा जाने कामदार अलपत्र परेका छन् ।

विभिन्न श्रम गन्तव्य मुलुकहरूले आफ्नो मुलुकमा प्रवेश गर्ने जो कोहीलाई पनि कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्ने निर्णय गरेका छन् । तर, नेपालमा खोप अभियान नियमित रूपमा सञ्चालन नहुँदा वैदेशिक रोजगारमा जाने कामदार बढी समस्यामा परेका छन् ।

निषेधाज्ञाका कारण वैदेशिक रोजगारमा जाने कामदार नेपालमा नै रोकिएर बसेका थिए । अहिले निषेधाज्ञा करीब करीब हटिसकेको छ भने अन्तरराष्ट्रिय उडान पनि खुला भएको छ । तर, खोप लगाउन नपाउँदा अधिकांश कामदार वैदेशिक रोजगारमा जान पाएका छैनन् ।

अधिकांश श्रम गन्तव्य मुलुकले तोकिएको खोप नै लगाउनुपर्ने बाध्यता छ । साउदी, कतारलगायत मुलुकले अमेरिकी खोप जोन्सन एन्ड जोन्सन, भारतीय खोप कोभिडसिल्डलगायत खोप अनिवार्य गरेका छन् ।

यस्तै, अन्य मुलुकले पनि सोहीअनुसार खोप तोकेका छन् । तर, नेपालमा तोकिएको खोप पर्याप्त मात्रामा छैन । त्यसको असरले पनि वैदेशिक रोजगारमा जाने कामदारले सहज रूपमा खोप लगाउन पाएका छैनन् । फलस्वरूप उनीहरू समयमा वैदेशिक रोजगारमा जान नपाउने अवस्था आएको छ ।

जोनसोनको खोप काठमाडौं जिल्लामा १८ बर्ष माथिका सबैलाई लगाउने भन्दै सरकारले खोप बितरण गर्दा यो समस्या आएको भन्ने जानकारहरु बताउछन् ।

यता बैदेशिक रोजगारमा जाने युवाहरु समस्यामा परेको र सबै ठाउँहरुमा हार गुहार गर्दा पनि खोप पाएका छैनन् भने पहुचमा रहेकाले भने जोनसोनको खोप लगाइ रहेको तस्बिर समेत बाहिरिएको छ ।