अन्तर्राष्ट्रिय विमानस्थलमा अचानक चल्यो रुवाबासी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १० साउन ।

अन्तर्राष्ट्रिय विमानस्थलमा आज रुवाबासी चलेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजमार्फत मलेसियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याएपछि आफन्तहरुको रुवाबासी चलेको हो ।

निगमको वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको हो।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न समयमा ज्यान गुमाएका नेपालीको शव बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको निगमको उडान सञ्चालन विभागले जानकारी दिएको छ ।वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका ती शव आजै आफन्तलाई जिम्मा लगाइएको छ ।

साउदी जान अनलाईन फारम भर्नुपर्ने
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साउदी अरब जाने कामदारहरुलाई अराइभल रजिष्ट्रेशन फारम भर्न आग्रह गरेको छ । संघका महासचिव सुजितकुमार श्रेष्ठले एक सूचना जारी गर्दै फारम भर्न आग्रह गरेका हुन् ।

साउदी जाने कामदारले https://muqeem.sa/#/vaccine-registration/home मा गई फारम भर्ने र प्रिन्ट गरी आफैले बोक्नु पर्ने संघले जनाएको छ ।

साथै साउदी अरब जाने कामदारहरुसँग अनिवार्य स्मार्ट मोबाइल फोन हुनु पर्ने र फोनको प्लेस्टोर वा आइएसओमा गई साउदीको कोभिड-१९ केएसए एप डाउनलोड गर्नुपर्ने महासिचव श्रेष्ठले सूचनामार्फत जानकारी दिएका छन् ।