ओली र राष्ट्रपति भण्डारीबीच २ घण्टा छलफल, यस्तो भयो कुरा कानी ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ९ साउन ।

निवर्तमान प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच लामो छलफल भएको छ ।

प्रधानमन्त्रीबाट बहिर्गमनभएपछि राष्ट्रपतिसँग यो पहिलो भे्टघाट हो ।

प्रधानमन्त्री शेर बहादुर देउवाले राखेको विश्वासको मतका पक्षमा माधव नेपाल र ओली पक्षकै २१ जना सांसद उभिएपछि रक्षात्मक बनेका ओली त्यसपछि पार्टीभित्रै माधव पक्षको दबाबमा परेका छन् ।

अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच शुक्रबार बिहान ११ः४० देखि दिउँसो १ः४० सम्म भेटवार्ता भएको थियो ।

आजको भेटवार्ताका बारेमा विस्तृत कुरा सार्वजनिक नभएपनि शेर बहादुर देउवा प्रधानमन्त्री भएपछि नेकपा एमालेभित्र झनै चुलिएको विवादका बारेमा उनीहरुबीच छलफल भएको बुझ्न सकिन्छ । माधव नेपाल पक्षलाई आममाफी दिने घोषणा गरेका ओलीले भावी दिनमा एमालेलाई कसरी अगाडि लैजाने भन्ने विषयमा राष्ट्रपतिसँग छलफल गरेको हुनसक्छ । यसका साथै राष्ट्रपतिमाथि महाअभियोग लाग्नसक्ने सम्भावनाका बारेमा समेत दुबैबीच कुराकानी भएको जानकार बताउँछन् ।

राष्ट्रपति भण्डारीले संविधानको रक्षा गर्नुको साटो केपी ओलीले सिफारिस गरेका हरेक कुरामा समर्थन गरेपछि उनीमाथि महाअभियोग लगाउनुपर्ने धारणा कतिपयले राख्दै आएका छन् ।

आजको भेटपछि प्रधानमन्त्री ओलीले माधव नेपाल पक्षका बारेमा के गर्ने भन्ने विषयमा ठोस निर्णय गर्ने आँकलन समेत गरिएको छ । राष्ट्रपति निष्पक्ष भूमिकामा देखिने भएपनि तत्कालिन नेकपा र अहिले नेकपा एमालेभित्रको विवादमा उनले सक्रिय भूमिका खेल्दै आएकी छिन् ।

यसअघि प्रधानमन्त्री रहेका बेला ओली र राष्ट्रपति भण्डारीबीचको मिलेमतोमा प्रतिनिधि सभा विघटन गर्नेदेखि विभिन्न अध्यादेश ल्याइएको भन्दै चर्को आलोचना भएको थियो ।