काठमाडौं, ८ साउन ।
नेकपा एमालेमा जारी विवाद समाधानका लागि अबका केही दिन निर्णायक हुने देखिएको छ । झण्डै छ महिना देखि अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच विवाद हुँदा पार्टीका गतिविधीहरु निष्क्रिय बन्दै गएका छन् । यही निश्कर्षका आधारमा अवको केही दिनभित्रै बिवाद समाधानको छिनोफानो गर्ने निश्कर्षमा नेताहरु पुगेका हुन ।
बिवाद समाधानकै लागि बिहीबार अध्यक्ष केपी शर्मा ओलीले निर्णायक पलहकदमी लिनुभएको छ । केन्द्रीय कमिटी बैठकलेपनि पार्टी एकता बचाउन हदैसम्मको लचिलो भएर जाने निर्णयसहित अध्यक्ष ओलीलाई नै जिम्मा दिएको छ । बैठकको निर्णयका आधारमा बिहीवार पुष्पलाल स्मृति दिवसका अवसरमा अध्यक्ष ओलीले पार्टीमा हालसम्म गरेका सबै गल्तीहरुलाई आम माफी दिने बताएपछि यस अघि गरिएका अनुशासनका कारबाहीहरु स्वतः निस्क्रिय भएका छन् । दोस्रो तहका नेताहरुको सुझाव अनुसार नै अध्यक्ष ओलीले आम माफी दिने घोषणा गर्नुभएको हो ।
बिहीबार बिहान उपाधध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले करिब दुई घण्टा अध्यक्ष ओलीसँग छलफल गर्नुभएको थियो । छलफलमा अध्यक्ष ओलीले सवै कुरा सुनेपछि सहमतिको प्याकेज के हुन्छ भनेर उपाध्यष रावलसहितका सवै नेतासँग जानकारी माग्नुभएको थियो । ‘त्यो भेटघाटमा हामीले पार्टी भित्रको सबै अवस्था अर्को पक्षको मनस्थिति र सत्ता गठबन्धनको रणनीतिका आदिका बारेमा अध्यक्षलाई सविस्तार सुनायौं,’ एमाले नेता नेम्वाङले भन्नुभयो, ‘त्यसपछि पार्टी विरोधी गतिविधि गरेकाहरुको अहिलेसम्मको माफखत गरिदिने निष्कर्षमा अध्यक्ष पुग्नुभएको हो ।
सबै नेताहरुको जोड अध्यक्ष ओली र नेता नेपालबीच संवाद गराएर विवादको निरुपण गर्नेमा छ । यसमा अध्यक्ष ओलीले जहिले र जहाँ भए पनि नेपालसँग भेटेर संवाद गर्न आफू तयार रहेको सार्वजनिक गरिरहनु भएको छ । तर नेपाल अझै निहुँ खोजिरहनु भएको छ । माधवले अध्यक्षको भेटघाटको प्रस्तावलाई कमजोरीको रुपमा लिनु भएको जस्तो देखिन्छ, यस्को अर्थ माधव अझै अनेक बहाना देखाएर एमाले भन्दा बाहिर जाने सुरसार मै हुनुहुन्छ ।
तर माधव पक्षका नेताहरुले जसरी पनि उहाँलाई एमालेमा ल्याउने प्रतिवद्धता गर्नुभएको छ । भीम रावलको नेतृत्वको टोलीले नेपाललाई अध्यक्ष ओलीसँग आज भेटघाटका लागि मनाउने जिम्मा लिनुभएको छ । ‘दुई नेताबीच भेटघाट भएर सहमति कायम भए ठिकै छ नत्र माधवजीलाई छोडेर उहाँहरु पार्टी काममा फर्कनुहुन्छ,’ नेम्वाङले भन्नुभयो, ‘यो अवस्था अब धेरै दिन रहँदैन । अबका दुई तीन दिन भित्र को पार्टी जिम्मेवारीमा फर्किने को नफर्किने स्पष्ट भइसक्छ ।
एमालेमा बिवाद समाधानमा पछिल्लो पटक सवै नेता लागिरहनु भएको छ । अहिलेसम्म समाधान नहुनुमा माधव नेपाल मात्रै जिम्मेवार रहनुभएको बुझाई उहाँ निकट नेतामै पनि रहेको छ । एमाले एकताका लागि माधवले पावर शेयरिङसहितको प्याकेज प्रस्ताव खोज्नुभएको छ । पावर शेयरिङको अर्थ उहाँले नवौं महाधिवेशनमा हारेको अध्यक्ष पद खोज्नुभएको हो । पार्टी जोगाउन अध्यक्ष ओलीले आफैसँग हारेका माधवलाई दोस्रो अध्यक्ष दिने बताइसक्नु भएको छ ।