ओलीलाई २२ सांसदले दिए यस्तो स्पष्टीकरण

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ७ साउन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार केन्द्रीय कमिटीको बैठकमार्फत एमालेका २२ सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण मागेको थियो।

एमालेका वरिष्ट नेता माधव कुमार नेपाल पक्षलाई ओलीले स्पष्टीकरण मागेपछि आज नेपाल समुहका २२ सांसदले अध्यक्ष ओलीलाई स्पष्टीकरण दिएका छन् ।

उनीहरुले छुट्टाछुट्टै स्पष्टीकरण दिएका हुन्।

तर स्पष्टीकरण संयुक्तरुपमा बुझाइएको एक सांसदले जानकारी गराए।

“प्रतिनिधिसभाको पुनःस्थापनापछि पार्टी विभाजन भएको कारणले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिमको प्रक्रियाको सरकार पनि बन्न सकेन ।

वास्तवमा प्रतिनिधिसभा पुनःस्थापना भएपछि प्रधानमन्त्रीले संसदीय दलको नेताबाट राजीनामा दिई अन्य कुनै सदस्यलाई संसदीय दलको नेतामा चयन गरी संविधानको धारा ७६ को उपधारा ३ को सरकार बनाउनु पर्दथ्यो ।

तर त्यसो नगरी तत्कालीन प्रधानमन्त्री नै धारा ७६ को उपधारा ३ अन्तर्गतको प्रधानमन्त्री नियुक्त हुनभयो । मिति २९७८ वैशाख २७ गते विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्दथ्यो ।

राजीनामा नदिई पार्टी र दलको निर्णय बिना नै संविधानका विभिन्न प्रावधान अन्तर्गत आफैँ प्रधानमन्त्री बन्न खोज्नु पार्टीको विधान र राजनीतिक नैतिकता विपरीतको कुरा हो । त्यसैले त्यस्तो कार्यको विरोधस्वरुप विभिन्न क्रियाकलापहरु भएका हुन् ,” स्पष्टीकरणपत्रमा भनिएको छ ।

स्पष्टीकरणपत्रमा विधिवत् बैठक बोलाउनुको साटो पार्टी अध्यक्षले फागुन २८ गते गुटगतरुपमा प्रधानमन्त्रीको सरकारी निवासमा आफ्नो मत मिल्नेहरुको भेला बोलाई केन्द्रीय कमिटीके कथित विशेष बैठक भनेर पार्टीको विधान र प्रक्रिया विपरीत नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको जिम्मेवारी परिवर्तन गर्ने, एमालेका सदस्य नै नरहेका २३ जनलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने काम कसरी विधानसम्मत भयो ? भनी प्रश्न गरिएको छ ।

उनीहरुले अध्यक्ष महाधिवेशनप्रति उत्तरदायी हुनुपर्नेमा त्यसो नगरी विधानको गम्भीर उल्लंघन गरिएको हुँदा अवैधानिक कार्यको विपक्षमा उभिएको स्पष्ट गरेका छन् ।