यसरी दिनुस् ड्राइभिङ लाइसेन्सको अनलाईन आवेदन

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ७ साउन ।

यातायात व्यवस्था विभागले सुरु गरेको अनलाइन आवदेन दिने कसरी भनेर सवैमा जिज्ञासा हुने गरेको छ ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन दिन यातायात व्यवस्था विभागको (डब्लु डब्लु डब्लु डट डिओटिएम डट जीओभी डट एनपी) www.dotm.gov.np वेबसाइट खोल्नुपर्छ ।

वेबसाइटको होम पेज खुल्छ । आवेदकले होम पेजमा यातायात व्यवस्था विभागको चिनारी मुनी रहेको ‘सवारी चालक अनुमति पत्र’ लिंकमा क्लिक गर्नुपर्दछ ।
त्यहाँ ‘ड्राइभिङ लाइसेन्स अनलाइन’ रजिस्ट्रेसनमा क्लिक गर्नुपर्छ । त्यसपछि ’सिटीजनसिप’मा नेपाल छानेर प्रोसिड गर्नुपर्छ । त्यसपछि त्यहाँ खुल्ने डेमोग्राफिक डिटेलमा आफ्नो व्यक्तिगत विवरण भर्नु पर्छ ।

त्यसपछि त्यहाँ मागेको स्थायी ठेगाना, जन्म मिति, आफुले कुन चाहि वर्गको सवारी साधनका लागि आवेदन दिन लागेको हो त्यसको वर्ग, आफुले आवेदन दिन लागेको, अञ्चल, लाइसेन्स कार्यालय छान्नु पर्छ । अनलाइनले मागेको सबै विवरणभरी सबमिटमा क्लिक गर्नुपर्दछ ।

अनलाइनमा फारम भरेर विभागको सिस्टमले एक्सेप्ट गरेपछि आवेदकले भरिएको पेपर प्रिन्ट गरी आफुसँग राख्नुपर्छ । तोकिएको समयमा आवेदक उक्त फारम सहित बायोमेट्रिक दिनका लागि सम्वन्धित यातायात कार्यालयमा पुग्नुपर्छ । बायोमेट्रिकमा आवेदकको फोटो खिच्ने, औंठाको छाप लिने लगायतका कामहरु गरिन्छ ।

अनलाइनमा आवेदन दिएपछि सिस्टमले नै विभागको कार्यालयमा कहिले उपस्थित हुने भनेर सूचना दिन्छ । त्यसपछि फारम, आफ्नो नागरिकता र अन्य कागजातका साथमा उपस्थित हुनुपर्छ ।