कम्पनीलाई एम्बुलेन्स बोलाउन आग्रह गर्दा वास्ता नगरेपछि मलेसियामा एक नेपाली कामदारको मृत्यु

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ६ साउन ।

काम गर्दा गर्दै स्वास्थ्यमा समस्या आएर कम्पनीलाई एम्बुलेन्स बोलाउन आग्रह गर्दा समेत कम्पनीले वास्ता नगरेपछि एक नेपाली कामदारको मृत्यु भएको छ । मलेसियामा कम्पनीको लापर्वाहीका कारण रौतहट पेटभर्वाका मदन बैठाको निधन भएको छ ।

उनलाई काम गर्दा गर्दै अचानक पेट दुख्यो । उनले आफ्ना संगै काम गर्ने साथी मार्फत कम्पनीलाई अस्पताल जान एम्बुलेन्स मगाउन लगाए । तर कम्पनीले कुनै वास्ता गरेन ।

फतुवा विजयपुर नगरपालिका वार्ड नम्बर ६ पेटभर्वानिवासी अकल बैठाका छोरा ३३ वर्षीय मदनको उपचार नपाएरै निधन भएको हो । सबैका अगाडी उनको छटपटिदै सोमबार साँझ निधन भएको हो ।

उनीसंगै काम गर्ने साथीहरुले पनि मदनको आग्रह कम्पनीले वेवास्ता गरेको बताएका छन् । अवस्था ग म्भी र हुँदा पनि अस्पताल लैजान कम्पनीका तर्फबाट पहलकदमी नलिँदा केहीबेरमै मृत्यु भएको बैठासँगै काम गर्ने भरत साहले जानकारी दिए ।

मदन करिव ४ वर्षअगाडि याका म्यानपावर काठमाडौंबाट मलेसियास्थित वाई एस इन्डष्ट्रिज बिएचडी कम्पनीमा काम गर्न गएका थिए । मदनको श व यथाशीघ्र नेपाल ल्याइदिन सम्बन्धित निकायसँग परिवारजनले माग गरेको छ । बैठाको एक श्रीमती र दुई वटा छोरा छन् ।