कोरोना महामारीः पोखरामा सात जनाको मृत्यु, सक्रिय संक्रमित बढेको बढ्यै

हाम्रो सन्देश संवाददाता

पोखरा, ५ श्रावण ।

पोखरा भाइरस संक्रमणबाट पोखरामा आजमात्रै सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका चार जना र स्याङ्जा, म्याग्दी र लमजुङका एक एक जना छन् ।

यीमध्ये पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ जना र मेडिप्लस अस्पतालमा एक जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय अन्तर्गतको स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकाी दिए ।

योसहित कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या एक हजार ३८ पुगेको छ । यीमध्ये कास्कीका मात्र ४३६ जनाको मृत्यु भएको छ ।

आज थपिए ४३८ जना संक्रमित

गण्डकीमा पछिल्लो २४ घण्टामा मात्रै ४३८ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये सबैभन्दा धेरै कास्कीका १७९ जना रहेका छन् ।

यस्तै मनाङमा सात, म्याग्दीमा २०, पर्वतमा तीन, गोरखामा २०, लमजुङमा २५, तनहूँमा २०, बागलुङमा ६१, स्याङ्जामा २९ र नवलपरासी पूर्वमा ७४ जना संक्रमित थपिएको संयोजक शर्माले जानकारी दिए ।

योसहित गण्डकीमा कूल संक्रमितको संख्या ६२ हजार ३६१ जना पुगेको छ । गण्डकीमा पछिल्लो २४ घण्टामा २६९ जना संक्रमित निको भएर निको हुनेको कूल संख्या ५२ हजार २९३ जना पुगेको छ ।

ह्वात्तै बढे सक्रिय संक्रमित

गण्डकीमा सक्रिय संक्रमित क्रमशी बढ्दै गएका छन् । आजको अन्तिम तथ्यांक अनुसार गण्डकीमा तीन हजार ३० जना सक्रिय संक्रमित छन् । सोमबार २८ सय ६८ रहेकोमा आज बढेर तीन हजार ३० सक्रिय संक्रमित पुगेको हो ।

आइतबार सक्रिय संक्रमितको संख्या २७ सय ५१ जना थियो । सक्रिय संक्रमितमध्ये २८ सय ९१ जना होम आइसोलेसनमै रहेको संयोजक शर्माले जानकारी दिए ।

कास्कीमा पनि सक्रिय संक्रमित बढ्दै

गण्डकी प्रदेशको राजधानी जिल्ला कास्कीमा पनि सक्रिय संक्रमितको संख्या तीव्ररुपमा वृद्धि भएको छ । दोश्रो भेरियन्ट फैलिएसंगै कास्की रेडजोनबाट मुक्त हुन सकेको छैन ।

कास्कीमा आज पनि १११ जना सक्रिय संक्रमित थपिएका छन् । योसंगै कास्कीमा सक्रिय संक्रमितको संख्या ११ सय पाँच जना पुगेका छन् । कास्कीमा कूल संक्रमितको संख्या २५ हजार ११४ जना पुगेको छ ।