प्रचण्डले नचाहेको भए ओली जिन्दगीभर प्रधानमन्त्री हुने थिएनन् : लिलामणि पोखरेल

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ४ साउन ।

नेकपा स्थायी समिति सदस्य लिलामणि पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुशताको अभ्यास गरिरहेको बताएका छन्। बिहीबार पार्टीले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा नेता पोखरेलले ओलीको निरंकुशताको अभ्यास नै प्रतिगमन भएको दाबी गरे। उनले ओली स्वेच्छाचारी ढंगले संविधान विपरीत कार्यहरू गरिरहेको आरोप पनि लगाए।

‘आफैले चुनावको घोषणा गर्ने, चुनावको घोषणा पछि त त्यो सरकार कामचलाउ भयो। चुनावको घोषणा पछाडि दीर्घकालीन रूपमा असर गर्ने काम केही पनि गर्न पाइँदैन। सामान्य दैनिक प्रशासनिक काम बाहेक अरू केपी पनि गर्न पाइँदैन,’ पोखरेलले भने, ‘तर सरकारले आफूलाई स्वेच्छाचारी ढंगले संविधान कानुन विधि पद्धति परम्परा सबैलाई तोडेर निरंकुशताको अभ्यास गरिराखेको छ। निरंकुशताको अभ्यास भनेको प्रतिगमन हो। प्रतिगमनविरुद्ध हामी सडकमा छौँ।

उनले प्रधानमन्त्री ओलीले श्रृंखलाबद्ध रूपमा असंवैधानिक काम गरिरहेको बताए। ओलीका प्रत्येक कदम राष्ट्रिय हित, देशको स्वाधीनताविरुद्ध रहेको उनको भनाई छ। उनले भने, ‘उहाँले अधिकार नै नभएको कारालाई लिएर संसद् विघटन गरिदिनु भयो। उहाँलाई इच्छा लाग्यो जे पनि गर्न पाउने, संविधान भन्दा आफू भएको महसुस पनि गर्नु भयो। हिजो आएर संविधानमा व्यवस्था भएको संवैधानिक पदाधिकारीको नियुक्ति प्रश्न छ।’

पोखरेलले अगाडि भनेका छन्, ‘केही समय अगाडि असंवैधानिक तरिकाले अध्यादेश जारी गर्नुभयो। त्यो अध्यादेशबाट असंवैधानिक तरिकाले सिफारिस गर्नु भयो। नेपालको संविधानको धारा २९२मा त्यस्ता पधादिकारीहरुको संसदीय सुनुवाइ गर्नै पर्ने व्यवस्था छ। संसद् विघटन गरिसकेको अवस्था संसदीय सुनुवाइ हुन सक्दैन। उहाँले संसदीय सुनवाइ समितिमा प्रवेश नगरीकन नियुक्ति गरेर हिजो शपथ खुवाउनु भयो। यसरी पटक पटक संविधान मिच्ने काम उहाँबाट भएको छ।

ओलीले नेपाली जनताले प्राप्त गरेको लोकतन्त्रलाई समाप्त गर्ने, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता समावेशी समानुपातिक प्रतिनिधित्व, मौलिक अधिकारको सुनिश्चितता जस्ता राष्ट्रिय स्वाधीनता विरुद्धमा राष्ट्र घाती कामहरू गरिरहेको हुनले जनताको इच्छाको प्रतिकुलताका बिचमा आज आम हडतालको अपिल गर्नु परेको पोखरेलको भनाई छ।

‘यो रिएक्सन हो। हामीले आज रिएक्सन दिएका छौँ। हामी आन्दोलनमा छदैछौं। यो बिचमा हामीले हडताल भनेका थिएनौँ,’ उनले भनेका छन्, ‘तर सरकारले एकपछि अर्को गरेर असंवैधानिक र देश द्रोही कदम चालेपछि हामी बाध्य भएर संकेतिक रूपमा शान्तिपूर्ण ढंगबाट नेपाल आम हडतालको अपिल गरेका हौँ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्नेमा आफूहरू विश्वस्त रहेको उनले बताए। प्रतिनिधिसभा पुनर्स्थापना भए मात्र अहिलेको राजनीतिक संकटले निकास पाउने उनको विश्वास छ। पोखरेलले भने, ‘सर्वोच्च अदालतले संविधान भन्दा बाहिर गएर व्याख्या गर्ने छैन। गर्दैन। यो विश्वास गर्छौँ। यदि संविधानभन्दा बाहिरको व्याख्या गरिदिएर यदि त्यसलाई सदर गरिदियो भने सर्वोच्च अदालत पनि मुलुकमा अस्थिरता सिर्जना गर्ने कारक बन्न सक्छ।

उनले केपी ओलीलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई दुई पटक प्रधानमन्त्री बनाएको पनि स्मरण गराए। प्रचण्डले नचाहेको भए ओली प्रधानमन्त्री कहिल्यै बन्न नसक्ने पनि पोखरेलको भनाई थियो।