एमाले केन्द्रीय कमिटी बैठक बस्दै, देउवालाई मत दिने सांसदमाथि कार्वाहीको तयारी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ४ साउन ।

नेकपा एमालेले आज केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

आज बिहान ११ बजे बोलाइएको १४ औं केन्द्रीय कमिटीमा पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल हुने बताइन्छ ।

आइतबार प्रधानमन्त्री शेर बहादुर देउवालाई एमालेकै २२ जना सांसदले मत दिएका र ११ जना मतदानमा सहभागी नभएपछि एमाले विवाद उत्कर्षमा छ ।

आजको केन्द्रीय समिति बैठकमा पार्टीको निर्णय नमान्ने सदस्यहरुलाई कार्वाह गर्ने प्रस्ताव आउन सक्ने बताइन्छ । ह्विप उल्लंघन गरेकै आधारमा कार्वाही गर्न नमिल्ने भएपनि पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा उनीहरुमाथि कार्वाही गर्न सक्ने श्रोतले बतायो ।

माधव नेपाल पक्षले भने आफूहरुसँग कुनै सहमति र सल्लाह नै नगरी पार्टीका बिभिन्न तहका बैठक आयोजना भएकोले सहभागी नहुने बताउँदै आएका छन् । आजको बैठकमा पनि माधव पक्ष सहभागी हुने या नहुने टुंगो लागेको छैन । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने बैठकमा उपस्थित हुन एमालेले सबै केन्द्रीय सदस्यलाई निर्देशन दिएको छ ।

आइतबार एमाले स्थायी कमिटिको बैठकले देउवाको पक्षमा मतदान गर्ने सांसदहरु एमाले रहन नसक्ने निर्णय गरेको थियो । कार्यदलका सदस्यहरुले भने मतदान बहिस्कार गरेका थिए । तर ओली पक्षकै ८ जना सांसदले भने देउवालाई मत दिएका छन् ।